काठमाडौं । गोली नै ठोकेर नियन्त्रणमा लिएका डकैतीमा सक्रिय विष्णु तामाङ भन्नेको रामकहानी कम रोचक छैन । प्रहरीसँग सँधै भागी हिँड्ने काले भनिने तामाङले प्रहरीकै घरमा पनि डकैति गरेको खुलेको हो ।
तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए । प्रहरीको खोजी सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोलीसँग जम्काभेट भएको थियो । प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले जानकारी दिए ।
तामाङको दायाँ खुट्टाको घुँडा मुनि गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार विभिन्न ठाउँमा डाँका, चोरी तथा सवारी साधन चोरी घटनामा संलग्न रहि फरार रहेका सिन्धुपाल्चोक मेलम्ची–२ बाहुनीपाटी उनको घर हो । घटनास्थलबाट १ थान कटुवा पेस्तोल, गोली ५ राउण्ड समेत बरामद गरीएको छ ।
प्रहरीका अनुसार अनुसन्धानको क्रममा मिति ६ चैत, २०६६मा चपली भद्रकाली स्थित जयबहादुर दच्न, २८ चैत २०६६ मा बुढानिलकण्ठ स्थित बिश्वराज सिंहको घरमा परिवारलाई नियन्त्रणमा लिई घरमा रहेका बिभिन्न सुन चाँदीको बहुमुल्य गरगहनाहरू तथा नगद समेत डकैती गरेका थिए ।
यस्तै, ४ वैशाख २०६७ मा पक्राउ गरी कारबाही गरिएको थियो । तर, ६ भदौ २०७२ मा जेलमुक्त भएपछि उपत्यकाको बिभिन्न सात स्थानमा कोही नभएको मौका पारी घरको मुलढोका फोडी घरमा रहेका बिभिन्न सुन चाँदीको बहुमुल्य गरगहनाहरू तथा नगद समेत गरी ९९ लाख ४ हजार ६ सय एक रूपैंया बराबरको डकैती र चोरी गरेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्