काठमाडौं । चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ का ३२ वर्षीय दावा पासाङ लामा, ३२ वर्षीय माइला भन्ने भक्त लामा, चीन आङ्गखोई उहु घर भई काठमाडौं ठमेल बस्ने वू चाओ र सान्दोङ्ग छिन्दिय घर भएका झ्याङ वेईलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले गत आइतबार बिहान काठमाडौं महानगरपालिका-९ गौशालाको तिलगंगास्थित आनन्द होटलबाट दुई जनालाई अपहरण गरी लगेका थिए।
सो होटलबाट चाररपाँच जनाको समूहले लुइ वेइपिङ र ली जीआओनिङलाई नम्बर नखुलेको ट्याक्सीमा हालेर लगेको परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए।
उनीहरू दुबैलाई जबरजस्ती सिन्धुपाल्चोकको मार्मिङ्गसम्म पुर्याई बन्धक बनाएका थिए। उनीहरू बन्धक बनाइ कुटपिट गरेको भनेर अर्का चिनियाँ साथी चउ चफिङ्गले परिसरमा उजुरी दिएका थिए।
त्यसपछि खटिएको टोलीले अपहरणमा संलग्नहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिई अनुसन्धान अघि बढाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्