काठमाडौं । नेपाल प्रहरीले एक प्रहरी बराबर ५ सय बढी नागरिकको सुरक्षा गरिरहेको छ । प्रहरीले कम जनशक्ति र साधन स्रोतको अभावबीच पनि संयुक्त राष्ट्रसंघ यूएनले तोकेको अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढीको संख्यामा नागरिकको सुरक्षा गरिरहेको हो ।
यूएनले प्रविधिले सम्पन्न विकसित मुलुकलाई आधार बनाएर डेढ दशकअघि निर्धारण गरेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार एक प्रहरीले ३ सय ३३ जनाको सुरक्षा गर्नुपर्छ । तर, नेपालमा भने एक प्रहरीले मापदण्डभन्दा अत्यधिक बढी संख्यामा नागरिकलाई सुरक्षा दिनुपर्ने बाध्यता छ ।
हाल नेपाल प्रहरीमा ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ । तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ । जुन संख्या स्वीकृत दरबन्दीभन्दा ११ हजार ६ सय ४ कम हो । कार्यरत प्रहरीलाई मात्रै आधार मान्दा एक प्रहरीको भागमा ४ सय ६७ जनाको सुरक्षाको जिम्मेवारी पर्छ ।
तर, कार्यरत प्रहरीमध्ये पनि अधिकांशलाई जनताको सुरक्षाबाहेकका जिम्मेवारीमा समेत खटाइएकाले एक प्रहरी बराबर सो संख्या बढेर कम्तीमा ५ सयभन्दा बढीको संख्यामा पुग्ने नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार कारागार सुरक्षा, गण तथा गुल्म, ट्राफिक प्रहरी, भीआईपी र भीभीआईपीको सुरक्षामा खटिएका, विमानस्थल, कार्यालयको प्रशासनिक काम, आधारभूत तालिममा खटिएका, सिंहदरबार सुरक्षामा खटिएका, प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालयसहित अदालतमा खटिएका बाहेकका प्रहरीलाई सो संख्याभित्र गणना गरिएको छ ।
सो स्थानमा खटिएकालाई सर्वसाधारणको सुरक्षामा खटिएको मानिँदैन । प्रवक्ता पोखरेलले अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रहरी पहुँचलाई पु(याउन साधन, स्रोत र जनशक्तिको विकास एकैपटक हुनुपर्ने बताए ।
उनले प्रहरीले उठाउँदै आएको साधन स्रोत, जनशक्ति र संरचनाको विकासलाई वर्तमान गृह मन्त्रालयको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले उच्च प्राथमिकतासाथ गति दिएकाले रिक्त दरबन्दीमा समेत छिट्टै पदपूर्ति प्रक्रिया थालिने जानकारी दिए । (राजधानी दैनिक )
आफ्नो प्रतिकृया दिनुहोस्