काठमाडौँ। कतै तपाईंले सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने , होच्याउने वा जथाभावी भन्ने गर्नुभएको छ ? वा विद्युतीय माध्यममा कोही कसैको अपमान गरिरहनु भएको त छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाईलाई कडा कारवाही हुन सक्छ। रमाइलोको लागि त हो नि भन्दै हेलचेक्रयाइँसमेत गर्न नपाइने व्यवस्था गरिएको छ।
‘सूचना प्रविधिसम्बन्धी विधेयक २०७५’ विधेयकले त्यस्तो कार्यलाई दण्डनीय अपराधका रुपमा व्याख्या गरेको छ। सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई निरन्तररुपमा हैरानी गर्ने, जिस्क्याउने गरेमा त्यस्तो क्रियाकलापलाई विधेयकले दण्डनीय अपराध मान्दै कारवाहीको भागीदार बन्नुपर्ने विषयलाई स्पष्टसँग व्याख्या गरेको छ। कोही कसैलाई होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने वा हप्काउने जस्ता कार्य गर्नसमेत बर्जित गरेको छ।
त्यस्तो कार्य भए, गराए कसुरदारलाई कसुरको मात्रा हेरि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षको कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
जेठ ६ गते नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फेसबुकमा अपशब्द लेखेको आरोपमा लालबहादुर तामाङलाई पक्राउ गरेको छ । ३३ वर्षीय तामाङलाई बिजुली बजारबाट नियन्त्रणमा लिइएको हो।
‘५० करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लेखिएको समाचार फेसबुकमा एक अनलाइन पोर्टलले सेयर गरेको थियो ।
त्यही सामग्रीमा तामाङले कमेन्ट लेख्दै प्रधानमन्त्री ओलीविरुद्ध अपशब्द लेखेका थिए । प्रहरीले उनीमाथि उनीमाथी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।
गत असार २० गते १६ करोडको गाडी खरिद प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा मनपरी लेख्ने तनहुँको बन्दिपुर निवासी नेविसंघ कार्यकर्ता बिबेक बाँनियालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई फेसबुकमा अश्लिल र अमर्यादित गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ट्रिनिटी कलेजका विद्यार्थी विवेकले यसअघि बन्दिपुरको नोत्रे दाम्स स्कूलमा पढेका थिए ।
त्यस्तै प्युठानका सोनुकुमार सुनारलाई प्रहरीले विहिबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । पेशाले पत्रकार सोनुकुमार लामो समयदेखि राष्ट्रपति तथा राष्ट्र उच्च पदस्थ व्यक्तिमाथि तल्लोस्तरको भाषा प्रयोग गर्दै मनपरी लेख्दै आएका थिए ।
गत चैत्र २० गते राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्ने २ युवकलाई प्रहरीले भक्तपुर र चितवनबाट पक्राउ गरेको थियो ।
फेसवुकमार्फत भ्रम फैलाउन खोजेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईवीको टोलीले पाल्पाका २२ बर्षीय निर्मल गैरे र रुपन्देहीका २३ बर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । गैरलाई भक्तपुर र पन्थीलाई चितवनबाट पक्राउ गरिएको थियो । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाही प्रक्रिया अघी बढेको थियो।
यसअघि अपराध महाशाखाले प्रधानमन्त्री, राष्ट्रपति र दलका मुख्य नेताविरुद्ध अपशब्द लेख्नेलाई पक्राउ गर्दै साइबर अपराधमा मुद्दा चलाइसकेको छ । वैशाख अन्तिम साता महाशाखाले सिन्धुपाल्चोकको मेलम्चीबाट ईश्वरकुमार चौलागाइर्ंलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको थियो ।
फटकशिला माविका प्रधानाध्यापक तथा शिक्षक महासंघ सिन्धुपाल्चोकका सचिव चौलागाईंलाई महाशाखाले राष्ट्रपति र प्रधानमन्त्रीको मानहानि हुने तस्बिर फेसबुकमा राखेको आरोपमा पक्राउ गरेको थियो ।
महाशाखाले गत कात्तिक १३ गते कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको थियो । पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी झूटो समाचार सम्प्रेषण गरेर भ्रम सिर्जना गरेको आरोपमा उनी पक्राउ परेका थिए । महाशाखाले मंसिर ११ मा भ्रमपूर्ण तथा झूटो खबर लेखेको आरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको थियो ।
उक्त अनलाइनले मंसिर ८ मा पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चितवन गएका बेला ‘स्थानीयले खुकुरी प्रहारको प्रयास’ शीर्षकमा समाचार छापेको थियो । अनलाइनमा प्रकाशित समाचारको अन्त्यमा उक्त ‘समाचार मिर्मिरे अनलाइनबाट साभार गरिएको’ उल्लेख छ । त्यतिबेला महाशाखाले समाचारको मूल स्रोतमाथि अनुसन्धान नगरी साभार गर्नेमाथि कारबाही गरेको थियो ।
गत भदौ ५ गते महाशाखाले काभ्रे रोशी गाउँपालिका-५ का वडा सचिव होमनाथ सिग्देलविरुद्ध फेसबुकमा प्रधानमन्त्रीको मानहानि हुने तस्बिर सेयर गरेको आरोपमा पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाएको थियो । सिग्देल काठमाडौं जिल्ला अदालतको आदेशमा एक लाख धरौटी बुझाएर भदौ २२ गते छुटे ।
दरबारमार्गमा रहेको क्लब उडल्याण्डले आफ्नो निजि फेसबुक पेजमा भएको फोटो प्रयोग गरि बिभिन्न ट्रोल बनेपछि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गरेको छ। आफ्नो सामग्री प्रयोग गरी विभिन्न पेजहरुले जथाभावी पोस्ट गरेको भन्दै क्लब संचालक नबिन प्रधानले उजुरी दिएका हुन्। ट्रोल ओके ,ट्रोल थानकोट ,ट्रेडिङ्ग नेपाल लगाएतका केहि पेजका बिरुद्द उजुरी परेको हो। “कुनैपनि संस्था वा व्यक्तिलाई असर पर्नेगरी कमेन्ट गर्न नहुने,यदि यस्तो गरेमा पनि मुद्दा चल्न सक्छ। ” महानगरीय प्रहरी परिषरको मुद्दा शाखामा कार्यरत डिएसपी सन्तोष तामाङ्गको भनाई छ। भ्रामक र अतिरंजित पोस्ट गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताउनुभयो। फेसबुक सँगको सहकार्यमा यस्ता पेजहरुको खोजि भैरहेको थापाले जानकारी दिनुभयो।
विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्नलाई १ लाख सम्म जरिवान वा ५ बर्षसम्म को कैद वा दुबै सजाय हुने व्यवस्था छ ।
आफ्नो प्रतिकृया दिनुहोस्