काठमाडौं । सरकारले विदेशबाट आएका व्यक्तिले कोरोना भाइरस ९कोभिड–१९० अरु व्यक्तिमा सारे कडा कारबाही गर्ने भएको छ ।
भारत या तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बस्न नमान्ने, भाग्ने, कोरोना संक्रमित भएको थाहा हुँदाहुँदै पनि रोग लुकाएर अरु व्यक्तिमा सारे त्यस्ता व्यक्तिलाई कडा कारबाही गरिने भएको हो ।
आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले क्वारेन्टाइनमा बस्न नमान्नेलाई संक्रामक रोग ऐनअनुसार कारबाही गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् समिति सदस्य सचिव नारायणप्रसाद बिडारीले बताए ।
‘कतिपय विदेशबाट आएका मानिस क्वारेन्टाइनमा बस्न इन्कार गरेको खबर आइरहेको छ, कतिपय गाउँमा लुकेर बसेका छन् भन्ने सुनिएको छ । कतिपय क्वारेन्टाइनबाटै भागेको भनेर पनि आएको छ, यस्तो हर्कत गरे कानुनअनुसार कारबाही हुन्छ, यसलाई गृह प्रशासनले कारबाही अगाडि बढाउँछ,’ बिडारीले भने ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को १ अनुसार संक्रामक रोग फैलाउन नहुने उल्लेख छ । यसरी रोग छ भन्ने थाहा हुँदाहुँदै नियतवश वा जानीजानी संक्रामक रोग फैलाउने व्यक्तिलाई १० वर्ष कैद र १ लाख जरिमाना, लापरबाहीपूर्वक संक्रामक रोग सारेमा ५ वर्ष कैद र ५० हजार जरिमाना र हेलचेक्याइँपूर्वक संक्रामक रोग फैलाए ३ वर्ष कैद र ३० हजार जरिमानाको व्यवस्था छ ।
आफ्नो प्रतिकृया दिनुहोस्