काठमाडौं । चिनको वुहानबाट सुरु भई विश्वभर फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नफैलियोस् भनेर सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभरि लक डाउन गरेको छ ।
आज बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन् । सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन् । अत्यावश्यकबाहेक पसल पनि बन्द छन् । सरकारले यो लक डाउन एक सातासम्मका लागि लागू हुने जनाएको छ ।
आइतबार काठमाडौंमा एकजना युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । फ्रान्सबाट दोहा हुँदै काठमाडौं आइपुगेकी ती १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको सोमबार सार्वजनिक भएको थियो ।
सोमबार साँझै बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणसम्म्बन्धी उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहानदेखि देशभरि लक डाउन गर्ने निर्णय गरेको थियो ।
लक डाउनमा सरकारबाट अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन बन्द गर्नुपर्छ । सरकारले आन्तरिक व्यवसायिक उडान समेत बन्द गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्