काठमाडौं । दैलेखका एक युवक ५० लाख भारु चोरी गरेर दैलेख आएको भन्दै चोर पक्राउ गर्न भारतीय प्रहरी पोशाकसहित दैलेख सदरमुकाम आइपुगेको छ ।
भारतको हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट तीनजना प्रहरीसहितको चारजनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको हो । मंगलबार विहान पोशाकसहित जिल्ला सदरमुकाममा हिडिरहेका भारतीय प्रहरी पोशाक सहित जिल्ला प्रहरी कार्यालय दैलेखमा पुगेका थिए ।
प्रदेश ५ र कर्णाली प्रदेश हुदै सदरमुकाममा भारतीय प्रहरी आईपुग्दा पनि कुनै ठाउँमा पनि जानकारी नहुनु नेपालको अनुसन्धान कति फितलो छ भन्ने कुरा बुझ्न सजिलो भएको नेपाल मजदुर किसान पार्टीका जिल्ला कमिटी सचिव लक्ष्मी विकले बताए ।
नेपाली काँग्रेसका दैलेखका पार्टी सचिव भुपेन्द्रबहादुर शाहीले भारतीय प्रहरी खुलेआम पोशाक सहित हिडडुल गर्नु भारतीय हेपाहा प्रवृत्ति भएको बताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भने छलफल भईरहेको बताए । ‘म अहिले मिटिङमा छु । सकिएपछि जानकारी दिउला । अनुमति छ छैन छलफल गर्दैछौं,’ उनले भने ।
भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिइ दैलेख आएको पाइएको छ । भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन् ।
‘उनीहरुले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छौ,’ प्रहरी निरीक्षक आचार्यले भने, भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैनौं, हाम्रो सम्पर्कमा आफै आउनु भएको हो ।’
आफ्नो प्रतिकृया दिनुहोस्