काठमाडौं । काठमाडौंबाट डेढ लाख बढी मास्कसहित कालोबजारी गर्ने ७ जनालाइ प्रहरीले पक्राउ गरेको छ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेला काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरी पछिल्लो समय आक्रामक बनेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा विशेष अपरेशन चलाएको हो । जसअनुसार शनिबार मात्र ७८ हजार मास्कसहित ८ जना पक्राउ परेका थिए ।
अपरेशनको निरन्तरता दिँदै प्रहरीले आइतबार एक लाख ६८ हजार मास्क बरामद गरेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले कपन क्षेत्रमा प्रहरीले चलाएको अपरेशनमा उक्त मास्कसहित ७ जना पक्राउ परेको पुष्टि गरे।
प्रहरीले कपनबाट प्राप्त सूचनाका आधारमा सतुंगलमा रहेको आरडीजी सप्लायर्समा पनि शिलबन्दी गरेको छ । यद्यपि, रात परिसकेकाले कति मास्क छन् भन्ने गणना भएको छैन ।
शनिबार मञ्जुश्री सप्लायर्सका गोदाम मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय, नृप कार्की, काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पक्राउ परेका थिए ।
उनीहरुविरुद्ध प्रहरीले कालोबजारी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान थालेको छ । कोरोनाको संक्रमण फैलिएसँगै विभिन्न कम्पनीले मास्कको स्टक लुकाएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्