एजेन्सी । इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीलाई सल्लाह दिने एक समितिका सदस्यको कोभिड-१९ कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ।
इरानी सरकारी रेडियोका अनुसार ७१ वर्षीय मोहम्मद मिर्मोहाम्मादीको सोमबार तेहरानको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी खामेनीलाई विभिन्न विषयमा सल्लाह दिने र धर्मगुरू र संसदबीच देखिएका विवाद सुल्झाउन एक्पिडियन्सी काउन्सिलका सदस्य थिए।
इरानमा सोमबारसम्म कोरोनाभाइरसका कारण ६६ जनाको मृत्यु भइसकेको छैन भने १५ सय १ जना संक्रमित भएका छन्। कोरोनाबाट चीनपछि सबैभन्दा धेरै इरानीले ज्यान गुमाएका छन्। इरानमा आमनागरिकलाई मात्र होइन उच्च सरकारी अधिकारीलाई पनि कोभिड-१९ को संक्रमण देखिएको छ।
इरानकी उपराष्ट्रपति, उपस्वास्थ्य मन्त्रीलाई कोभिड-१९ देखिएको थियो। इरानका सांसद तथा संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख मोज्ताबा जोल्नुर, सांसद मोहम्मद सादेगी, तेहरानका एक मेयर मोर्ताजा रहमानजादा, कोम सहरका स्वास्थ्य विश्वविद्यालयका निर्देशक डाक्टर मोहम्मद रेजा गादिर र भ्याटिकनका लागि पूर्वइरानी राजदूत हादी खोस्रोसाहीलाई कोभिड(१९ भएको छ। तीमध्ये ८१ वर्षीय हादीको सोही बिरामका कारण ज्यान गइसकेको छ।
बन्द समाज र कमजोर स्वास्थ्य प्रणाली भएकाले संक्रमितको संख्या योभन्दा धेरै हुने अनुमान गरिएको छ। इरानमा सबैभन्दा बढी कोम सहरमा कोभिड-१९ को संक्रमण देखिएको छ। संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि शुक्रबारको प्रार्थनाहरू रद्ध गरिएको छ। स्कुल र विश्वविद्यालय मार्च २१ सम्मका लागि बन्द गरिएको छ। साथै सबै प्रकारका सांस्कृतिक र खेलकुद कार्यक्रम पनि रोकिएको छ।
इरानमा चीनबाट कोभिड-१९ पुगेको विश्वास गरिएको छ। अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले प्रतिबन्ध लगाएको इरान र चीनबीच अहिले पनि सुमधुर सम्बन्ध छ। चीनसँगको व्यापार इरानको अर्थतन्त्रलाई सहयोग पुगेको छ।
चीनले शुक्रबार कोभिड-१९ जाँच्ने बीस हजार किट इरानलाई दिन लागेको छ। कोभिड-१९ जाँच्ने प्रयोगशालामा पनि २ बाट ७ पुर्याएको छ भने अर्को सातासम्म ती प्रयोगशालाको संख्या २२ पुग्ने जनाइएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्