चितवन । भरतपुर महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्रीवितरण स्थलको दैनिक अनुगमन गर्न सुरु गरेको छ ।
महानगरका प्रवक्ता अरुण पीडित भण्डारीले सुर्तीजन्य वस्तुको बेचबिखन अनुगमन तथा सार्वजनिक स्थलमा सेवनमा प्रतिबन्ध लगाइएको जानकारी दिए ।
उनले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार अनुगमन गरिएको र महानगरलाई सुर्तीजन्य पदार्थरहित बनाउन अभियान प्रभावकारी बनेको बताए ।
अनुगमन टोलीले शैक्षिक सङ्घसंस्था, सरकारी कार्यालय, अस्पताल बालगृहलगायत निकाय आसपासका क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको बिक्री भएरनभएको अनुगमन गरिरहेको छ ।
ती क्षेत्रका १ सय मिटरको वरपर सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न ऐनले रोक लगाएकाले त्यसको कार्यान्वयनमा महानगरका अधिकारी जुटेका हुन् ।
महानगरका उपसचिव प्रद्युन्नप्रसाद उपाध्यायकोे नेतृत्वमा प्रत्येक दिनजसो बजार अनुगमन गरिँदै आएको छ । अनुगमनका क्रममा ३५ मध्ये १३ पसलमा यस्ता सामग्री पाइएको र चुरोट सेवन गर्दै गरेका दुई व्यक्तिलाई समेत कारबाही गरिएकोे उनले जानकारी दिए ।
महानगरपालिकालाई आगामी डिसेम्बरमा विशेष समारोहबीच ध्रूमपानरहित शहर औपचारिक घोषणाका लागि तयारी थालिएको हो ।
महानगरप्रमुख रेणु दाहालका अनुसार धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य सुरु गरिएको छ । गत महिना इन्डोनेसियाको बोगर नगरमा भएको कार्यक्रममा उनले भरतपुरलाई ‘स्मोक फ्री’ सिटी बनाइने प्रतिवद्धता जनाएकी थिइन् ।
सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐनको दफा ४ मा सार्वजनिकस्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जनस्थल, होटल, रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारी साधन र प्रतीक्षालयमा धूमपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णतः निषेध गरिएको छ । होटल रेष्टुरेन्टहरूमा तोकिएको स्थानमा मात्र यसको सेवन गर्न पाइनेछ ।
तोकिएका स्थानमा १८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा गर्न लगाउन नपाइने व्यवस्था महानगरले गरेको छ । रासस
आफ्नो प्रतिकृया दिनुहोस्