काठमाडौं । ७० करोड कमिशनको डिल गरेको अडियो सार्वजनिक भएपछि संचारमन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटा बिरुद्ध छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवदेन परेको छ ।
आइतबार सुनसरीका प्रीतम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्वमन्त्री बाँस्कोटलाई अनुसन्धानको दायराभित्र ल्याउन माग गर्दै निवेदन दिएका हुन् । करोडौँ भ्रष्टाचार गर्ने नियतका साथ गरिएको बार्गेनिङको रेकर्ड सार्वजनिक भएकोले उनिबिरुद्ध अख्तियारले थप अनुसन्धान गर्न माग गरिएका हो ।
उनीहरुले आइतबार बिहान निवेदन दर्ता गराएका छन् । सेक्युरिटी प्रिन्टिङ खरीद प्रक्रियामा एक स्वीस कम्पनीका नेपाली एजेन्ट बिजयप्रकाश मिश्रसँग कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले पदबाट राजीनामा दिइसकेका छन् ।
‘साथै उक्त अडियो रेकर्डिङको बारेमा प्रधानमन्त्री श्री खड्ग प्रसाद ओलीलाई करिब दुई महिना अगाडिबाटै थाहा भएको भन्ने पनि सञ्चार माध्यमबाट थाहा हुन आएकोले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ निवेदनमा भनिएको छ,‘ यदि उक्त कुरा सत्यतथ्य हो भने निजले भ्रष्टाचार निवारण ऐनको परिच्छेद –५ को विविध शीर्षकको दफा ४४ को “सरकारी निकाय तथा सार्वजनिक संस्थाको कर्तव्यः कुनै सरकारी निकाय तथा सार्वजनिक संस्थाको प्रमुखले आफ्नो वा आफ्नो मातहतका कुनै कार्यालयमा भ्रष्टाचार भएको छ भन्ने कुनै जानकारी प्राप्त हुन आएमा तत्काल त्यस्तो विषयसंग सम्बन्धित कागजात तथा फाइल आफ्नो जिम्मामा लिई सुरक्षित राख्नु पर्नेछ र त्यस्तो विषयसँग सम्बन्धित व्यक्ति तथा कर्मचारीहरूसंग वास्तविक कुरा बुझी भ्रष्टाचार भएको देखिने कारण भएमा त्यस्तो कागजात अनुसन्धान तथा तहकिकातका लागि सम्बन्धित निकायमा पठाउनु पर्नेछ ।” भन्ने व्यवस्थाको उलङ्घन गरेको हुन आउने देखिन्छ ।
आफ्नो प्रतिकृया दिनुहोस्