कैलाली । कैलाली जिल्ला अदालतले मसुरियाकी युवती माया विकको बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई जन्मकैद फैसला भएको छ । उक्त मुद्दामा थप एक जनालाई ५ वर्षको कैद सजाय हुने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले गौरीगंगा–११, का सुरज चौधरी, भुवन खाती, गणेश बडुवाल र मनोज बोगटीलाई बलात्कारपछि हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेर जन्मकैदको फैसला गरेको हो ।
कर्तव्य ज्यानतर्फ जन्मकैदको सजाय भएका सुरज र भुवन जबर्जस्ती करणीतर्फको मुद्दामा पनि दोषी ठहर भएको तहसिलदार नेगीले बताए ।
घटनामा संलग्न नभएको तर प्रत्यक्ष थाहा पाए पनि जानकारी नदिएको भन्दै तपेन्द्र बोगटीलाई पनि ५ वर्षको कैद सजाय फैसला भएको छ ।
माया विकको बलात्कार गरी हत्या घटनामा ५ जनाविरुद्ध जबर्जस्ती करणी, अपहरण र कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता भएको थियो ।
अपहरणमा भने कसुर ठहर नभएको नेगीले बताए । जबर्जस्ती करणीमा दोषी ठहर २ जनाको यो मुद्दाको सजायको फैसला १२ फागुनको पेशीले तोक्ने अदालतले जनाएको थियो ।
तर, दुवै जनालाई कर्तव्य ज्यानतर्फ जन्मकैदको फैसला भइसकेकाले जबर्जस्ती करणीको सजाय जोडिने छैन । मायाको डेढ वर्षअघि बलात्कार गरी हत्या भएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्