काठमाडौं । जिल्ला अदालत धादिङबाट ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका हत्या, डकैती तथा लुटपाटमा संलग्न धादिङ खनियाबास गाउँपालिका-४ ठेगाना भएका साइला भन्ने ३७ वर्षीय दुर्गा बहादुर तामाङलाई कास्की पोखरा महानगरपालिका-२५ खुट्टेगौंडाबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङ २०६७ कात्तिक १० गते धादिङ दार्खा-१ पातले भिरमा शिव थापालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा उक्त अदालतबाट ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका थिए ।
साथै २०६९ मंसिर १९ गते धादिङ दार्खा-१ रातमाटेस्थित भिषण सिंखडालाईधारिलो हतियार प्रहार गरी हत्या गरेको तथा २०७६ जेठ ८ गते धादिङ खनियाबास गाउँपालिका-१ पर्चे भन्ने स्थानमा उनीसमेत ४ जनाले खुकुरी देखाई ज्यान मार्ने धम्की दिई कैलाश दिक्षितको साथबाट ६ लाख १० हजार रुपैयाँ नगद र मोबाईल समेत लुटी फरार भएको घटनामा संलग्न रहेको खुल्न आएको छ ।
तामाङले आफ्नो पहिचान बदली नक्कली परिचय बनाई कास्की जिल्लाको चुम्राङ्ग भन्ने ठाउँमा लुकीछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी
टोलीले उनलाई पक्राउ गरेको हो । तामाङलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाइएको उक्त ब्यूरोले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्