एटीएम, बैंकपछि अब स्थानीय तहका तथ्यांक र जानकारी ह्याक हुन थालेको छ
काठमाडौं । नेपालका बैंकका एटिएम ह्याकिबमा चिनियाँ पक्राउ परेको धेरै भएको छैन । त्यस्तै खाता ह्याकिबमा पिटर काले भन्ने समूहका सदस्य सक्रिय रहेको र बैंकका कर्मचारीको पनि मिलोमतो हुनसक्ने अनुसन्धान जारी छ ।
यो क्रममा नेपालका विभिन्न स्थानीय तहदेखि राज्यका तथ्यांक नै बुझ्नका लागि अर्को ह्याकर समूह सक्रिय रहेको तथ्य फेला परेको छ । जसका बारेमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) सक्रिय भइसकेको छ ।
यति मात्र होइन, नेपाल सरकारका विभिन्न निकायका कामकारबाही, आर्थिक कारोबार र बजेटलगायतका विषयमा तथ्यांक तयार पार्ने महालेखा नियन्त्रण कार्यालयकै तथ्यांक ह्याक भएको छ ।
१२ मंसिरदेखि ४ पुसम्म उसले तयार पारेको सबै तथ्यांक ह्याक भएको बुझिएको छ । जसका बारेमा सीआईबीले तदारुकताका साथ काम गरिरहेको छ । महालेखा नियन्त्रक कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा रहेको तथ्यांक ह्याकर समूहका कारण नस्ट भएको छ ।
यस प्रणालीमा स्थानीय तहको सबै हर हिसाबदेखि बजेट समेत राखिएको हुने गर्छ । स्थानीय तहको बजेट खर्चमा भ्रष्टाचार भएको चर्चा चलिरहेका बेला महालेखाको प्रतिवेदन बनाउन तयार पारिएको सिस्टम नै ह्याक गर्ने जिम्मेवारको खोजीनीति भइरहेको स्रोतले जनाएको छ ।
स्थानीय संचित कोषको तथ्यांक ह्याक भएको निवेदन महालेखाले सीआईबीलाई दिएपछि ५ पुस देखिनै ह्याक भएकोबारे सीआईबीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिए । सीआईबीका अनुसार महालेखा नियन्त्रकको तथ्यांक संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) कमजोर भएको कारण सजिलै ह्याकर समूहको कब्जामा परेको अनुमान गरेको छ ।
त्यसो त नेपालका विभिन्न कार्यालयदेखि बैंकसम्मका प्राविधिक प्रणाली कमजोर रहेको चाल पाएपछि देशीविदेशी ह्याकर समूह नेपाल केन्द्रित भएका छन् । नेपालका डाटालाई प्रभावित बनाई यहाँबाट करोडौं रकम सहज तरिकाले झिक्ने चाँजोपाँजोमा यस्ता घटना सार्वजनिक हुन थालेको बताइन्छ । जनप्रहार साप्ताहिकबाट
आफ्नो प्रतिकृया दिनुहोस्