काठमाडौं । चितवनको सौराहबाट प्रदेश ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई शुभारम्भ गरिने भएको छ । चितवनमा २६ डिसेम्बरदेखि सुरू हुने १८औं संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो ।
यस वर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल संघ चितवन सौराहका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । जनवरी ३ तारिखमा सौराहमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलबाट भ्रमण वर्षको शुभारम्भ गरिने उनले बताए ।
हात्ती महोत्सवको समायवधि बढेपछि कार्यक्रमहरू पनि थप गरिएको उनको भनाइ छ । यसअघिका वर्षमा हटाइएका टाँगा दौड, गाडा दौड, डुंगा दौड भ्रमण वर्षलाई लक्षित गरेर पुनः समावेश गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री पौडेलले विशेष चासो राखेपछि हात्ती महोत्सवको समय थप गर्न सौराहाका व्यवसायी तयार भएका हुन् ।मुख्य मन्त्री पौडेलले सौराहका व्यवसायीसँग छलफल गरेर चितवनबाटै प्रदेशको भ्रमण वर्ष शुभारम्भ गर्न आग्रह गरेका थिए ।
उनले चितवनको सौराहलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गर्ने बताए । चितवन राष्ट्रिय निकुञ्जको आडमा रहेको सौराहमा वर्षेनि लाखौं पर्यटक आउने गरेका छन् ।
भ्रमण वर्ष लक्षित गरेर सौराहमा रात्रिकालीन जीप सफारी, फुड फेस्टिबललगायतका अन्य नयाँ कार्यक्रम पनि आयोजना गर्न लागिएको छ । चितवनमा भ्रमण वर्ष २०२० मा ४ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । रासस
आफ्नो प्रतिकृया दिनुहोस्