काठमाडौं । उत्तर प्रदेशमा बलात्कारको शिकार भएकी एक युवतीलाई अदालत जाँदै गर्दा आगो लगाइएको घटना बाहिर आएको छ । २३ वर्षीया बलात्कार पीडित महिला अदालत जाँदै गर्दा आगो लगाइएपछि बाँच्नका लागि अस्पतालमा संघर्षरत छिन् ।
गत मार्चमा आफूलाई दुई जनाले बलात्कार गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी ती युवती मुद्दाको बहस सुन्नका लागि अदालत जाँदैगर्दा उनीमाथि आगो लगाइएको थियो । आगो लगाएपछि गम्भीर घाइते उनको अस्पतालमा उपचार भइरहेको छ ।
उनीमाथि आगो लगाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकामध्ये एकजना केही महिना अगाडि भएको बलात्कारको अर्को घटनाका आरोपी रहेका छन् । भारतिय सञ्चारमाध्यमका अनुसार ती महिलालाई रेल्वे स्टेशन जाँदै गर्दा आरोपितहरूले कुटपिट गरेर नजिकैको खेतमा तानेर लगेका थिए । उन्नाओ जिल्लामा भएको सो घटनाको भारतभरि विरोध भइरहेको छ।
केहि दिनअघि मात्रै भारतमा दक्षिणी शहर हैदराबादमा एक २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार र हत्या भएको थियो। सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएका छन् ।
अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभरि प्रहरीले ३३ हजार ६ सय ५८ बलात्कारका रेकर्ड गरेको छ । यसरी हेर्दा भारतमा औसत दैनिक ९२ वटा बलात्कारका घटना घट्ने गरेको पाइन्छ । ऐजेन्सी
आफ्नो प्रतिकृया दिनुहोस्