काठमाडौं, १८ मंसिर । नेपाल प्रहरीका निलम्बित प्रहरी नायब उपरिक्षक डिएसपी कुमुद ढुङ्गेल विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरेसँगै ढुङ्गेल प्रहरीकै फरार सुचीमा रहेको उच्च स्रोतले जानकारी दिएको छ । गत वर्ष चैत्र २६ गते राजधानीको रानीबारीस्थित लालेन्द्र शेरचन को घरमा भएको लुटपाटको घटनामा ढुङ्गेलको समलग्नता खुलेको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रानिगाहपुर (रौतहट)मा कार्यरत डिएसपी ढुङगेलको डकैतीमा संलग्न व्यक्तिसँग फोन सम्पर्क देखि म्यासेज आदान प्रदान सम्म भएको र डकैती अभियोगमा हाल जेल जीवन विताइ रहेका विकास श्रेष्ठसँग ढुङ्गेलले पटक पटक सम्पर्क गरेको खुलेको थियो । त्यति मात्रै होइन घटना हुनु केहि दिनअघि समेत विकाससँग ढुङ्गेलको भेट भएको खुलेको थियो ।
तत्कालिन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले वैसाख ६ गते चन्द्रगढी नगरपालिकाका ३८ वर्षीय नवराज तामाङ, ३६ विक्रम श्रेष्ठ, र नुवाकोट बेलकोटगढीका २८ वर्षीय दीपेश भन्ने सन्तबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो । उनीहरुले प्रयोग गर्ने बा ३ च ७१६४ कलेजी रङको ट्याक्सी र बा २ ज ३०६१ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको थियो । उनीहरुले शेरचनकी श्रीमती भानुदेवि शेरचनको घरमा रेखदेख गर्ने मिठु थकालीलाई धारिलो हतियार खुकुरी, रड देखाएर गर गहनासहित ५ लाख लुटेका थिए । गुण्डा नाइकेको रुपमा चिनिएका समिरमान बस्नेत रमेश बमसँग समेत ढुङ्गेलको पटक पटक सम्पर्क देखिएको थियो ।
त्यतिमात्रै होइन डिएसपी ढुङ्गेलको खातामा अकुत रकम देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबीन थालेको थियो । महानगरीय प्रहरी बृत सोह्रखुट्टेले डकैतीमा समलग्नहरुलाई मुद्दा चलाएको थियो । ढुङ्गेललाई पक्राउ गर्न महानगरीय प्रहरी अपराध महासाखा, काठमाडौं प्रहरी परिसर र सोह्रखुट्टे प्रहरीले खोजी जारि राखेको छ ।
पक्राउ पुर्जी जारी भएको २ हप्ता वितिसक्दा पनि ढुङ्गेल भने पक्राउ पर्न सकेका छैनन् । विश्वस्त स्रोतका अनुसार भारत हुदै तेस्रो मुलुकमा छिरि सकेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्