काठमाडौं । देशको विभिन्न ५२ स्थानमा भएको उपनिर्वाचनमा मतदान शान्तिपूर्ण रुपमा भएको छ । निर्वाचन आयोगले सबै ठाउँमा शान्तिपूर्ण निर्वाचन भएको बताए । साँझ ५ बजेसम्म मतदानका लागि लाइनमा बस्नेले मतदान गर्न पाउने जनाएको छ ।
अर्धाखाँची : अर्घाखाँचीमा ७३ दशमलव ८९ प्रतिशत मत खसेर मतदान सम्पन्न भएको छ । कुल तीन हजार ११ मतदाता रहेको ठाउँमा एक हजार दुई सय २४ महिला र एक हजार एक पुरुष गरी दुई हजार दुई सय २५ ले मतदान गरेका छन् ।
पोखरा : प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतदान सकिएको छ । साँझ ५ बजेसम्ममा करिव ६५ प्रतिशत मतदान भएको प्रारम्भीक अनुमान रहेको कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए ।
लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाअध्यक्ष पदमा भएको निर्वाचनमा ६६ दशमलव ३० प्रतिशत मतदान भएको छ । कुल दुई हजार दुई सय ९७ मतदाता रहेको दुई वटा मतदानस्थलको तीनवटा मतदान केन्द्रमा एक हजार पाँच सय २३ मत खसेको हो ।
रोल्पा : रोल्पाको थबाङ गाउँपालिका १ को वडाअध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा दुई सय नौ मत खसेको छ । कुल एक हजार दुई सय ७४ कुल मतदाता रहेको गाउँपालिकामा दुई सय नौ मत खसेको हो । मतगणना सकेर आजै विजयी घोषणा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
डोटी : आदर्श गाउँपालिका २ कालिकास्थानमा ६५ प्रतिशत मतदान भएको छ । कुल दुई हजार चार सय ५९ मतदाता रहेको उक्त वडाको तीन मतदान केन्द्रमा एक हजार पाँच सय ९३ मत खसेको हो ।
गुल्मी : गुल्मीको रुरु क्षेत्र गाउँपालिका(६ को उपनिर्वाचनमा ७५ प्रतिशत मत खसेको छ । दुई हजार ४८ जम्मा मतदातामा १५ सय ४४ मत खसेको छ । दुई मतदान स्थलमध्ये ‘क’मा चार सय २७ महिला र तीन सय ६१ पुरुषले मतदान गरेको मतदान अधिकृत शान्ति शर्माले जानकारी दिइन । यस्तै ‘ख’ मतदान केन्द्रमा चार सय ४९ महिला र तीन सय ७ पुरुषले मतदान गरेको मतदान केन्द्रका अधिकृत कृष्णशरण लामिछानेले जानकारी दिए ।
कन्चनपुर : कन्चनपुरको पूर्नवास नगरपालिका ३ मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा ७७ प्रतिशत मतदान भएको छ । साँझ ५ बजेसम्ममा ९२४ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । शनिबार रातिबाटै मतगणना हुने जनाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्