धनुषा। गत बिहिबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक अभियुक्तसहित ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार राति साढे ९ बजे सिरहा माडरको भारतीय सीमाबाट राममणि यादवसहित चार विद्यार्थीलाई पक्राउ गरेको हो । यादव बयान लिने क्रममा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट फरार भएका थिए।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहा औरहीका प्रमेश यादव, ठैगहीका सूर्यनारायण यादव, अर्नमाका रामप्रकाश यादव र बसपिट्टाका राजकुमार यादव छन् । चारै जना जनकपुरस्थित एक कलेजमा ओभरसियर अध्ययनरत विद्यार्थी हुन् । उनीहरुले राममणिलाई भगाउन सघाएका थिए ।
पक्राउ परेका ५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा डेरा लिई बस्दै गरेका सिरहाका २० वर्षीय राममणि यादवले बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।
प्रहरीको हिरासतबाटै यादव फरार भएपछि अपराध अनुसन्धान शाखाका असई राजकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित गरेको छ भने प्रहरी नायब उपरीक्षक रामेश्वोर कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली नै गठन गरेर फरार अभियुक्तको खोजी तीव्र पारेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्