काठमाडौं – नुवाकोटको किस्पाङ गाउँपालिका राममाया तामाङ (नाम परिवर्तन) ले पछि हरि (नाम परिर्वतन) लाई २०७५ भदौ २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुर्कमिनिस्तान बिदा गरिन् ।
पैसा कमाउने र बालबच्चालाई राम्रोसँग शिक्षादीक्षा दिने दुवैको योजनासहित पति विदेश लागे र पत्नी घर नुवाकोटतर्फ लागिन् ।
विदेश उडेको ८/९ महिना हुँदा पनि पतिको फोन आएन । फेसबूक, भाइबर, इमोमा पतिसँग सम्पर्क हुन्छ कि भन्दै प्रयास गरिन् ।
पतिसँग सम्पर्क हुने प्रतिक्षामा रहेकी राममायालाई १ दिन फेसबूकको म्यासेन्जरमा फोन आयो । पतिको फोन आएर खुशी भइन् तर उनको खुशी केही क्षणमै हरायो ।
युद्धग्रस्त क्षेत्रमा काम पनि नदिइ, खान पनि नदिइ बन्धक बनाएको र ज्यान बचाउन मुस्किल रहेको भनेर पतिले बताउँदा राममायाको झण्डै बेहोस भइनन् । केही क्षणमै फोन काटियो । उनी पतिको ज्यान बचाइदिनुपर्यो भन्दै प्रहरी प्रधान कार्यालयस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिन पुगिन् ।
राममायाका पतिसँगै रसुवाको उत्तरगया गाउँपालिका–१ का दरवाङ्दे तामाङ, मोन लामा, बुद्धिमान तामाङ, बाबुराम तामाङ र बुच्यूङ समेत अन्य ५ जनालाई बन्धक बनाइएको थियो ।
अनुसन्धान ब्यूरोले कुवेती राजदूतावासको सहयोगमा पीडितलाई गत वैशाख २६ गते उद्धार गरी नेपाल ल्याइयो । तुर्कमिनिस्तानको तेल कम्पनीमा मासिक १ लाख रुपैयाँको रोजगार मिलाइदिने प्रलोभनमा प्रत्येकबाट ४ लाख १० हजार रुपैयाँका दरले पैसा उठाएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० गोविन्द थपलियाले बताए ।
घटनामा संलग्न रसुवा उत्तरगया गाउपालिका–५ बैत्रावती की ३९ वर्षीया बोमो तामाङलाई पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
।।। ।।। ।।।
गत साउन ६ गते लिबिया पठाइदिन्छु भन्दै पाकिस्तान, बंगलादेश र भारतका व्यक्तिहरूलाई नेपाल ल्याई बन्धक बनाएको अभियोगमा पाकिस्तानको पञ्जाबस्थित पसयलकोट घर भएका ३० वर्षीय खालिद मेहमुदलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गर्यो ।
पाकिस्तानी नागरिक सहजिव नजल, बंगलादेशी नागरिक शादा आलम खान र सैहिद सुमन मियालाई विदेशमा आकर्षण तलब दिलाइदिने भन्दै ललितपुरको भैसेपाटीमा कोठा भाडामा लिएर राखिएको थियो ।
खालिदले ५ देखि ७ लाख रुपैयाँ समेत उठाएका थिए । खालिदले पर्यटक भिसामा नेपाल ल्याएर खाना पनि नदिइ बन्दक बनाएका थिए । असार ६ गते मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पीडितलाई उद्धार गर्दै अभियुक्तलाई पक्राउ गरेको थियो ।
खालिद मेहमुदको साथबाट ३ वटा पाकिस्तानी राहदानी, ३ वटा भारतीय र ४ वटा बंगलादेशी राहदानी तथा भारत, पाकिस्तान र जोर्डन दूतावास तथा कन्सुलरको स्ट्याम्प, विभिन्न कम्पनीका १० वटा सिमकार्ड समेत बरामद गरेको थियो ।
उल्लेखित २ घटना प्रतिनिधि घटना मात्र हुन् । २०७४र७५ सालको तथ्यांकलाई हेर्दा पुरुष १ सय १९ र महिला ४ सय २७ गरी ५ सय ४६ जना पीडितले प्रहरीमा उजुरी गरेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ईश्वरबाबु कार्कीले बताए ।
महिलाको अवस्था झन् विकराल
मानव बेचबिखन अनुसन्धान ब्यूरोको तथ्यांक हेर्दा महिला बेचबिखनको अवस्था विकराल देखिन्छ । पुरुषको तुलनामा महिला बेचबिखनको संख्या झण्डै ४ गुणाले बढी देखिएको छ । पीडित पुरुषको संख्या १ सय १९ हुँदा महिलाको संख्या ४ सय २७ छ ।
‘मानव बेचबिखनको मुद्धा हेर्ने हो भने महिलाको अवस्था झन् विकराल छ । पुरुषको तुलनामा महिलाको संख्या निकै धेरै छ,’ एसएसपी कार्कीले भने ।
बेचबिखनमा १९ देखि २५ वर्षका युवायुवती धेरै
मानव बेचबिखनको तथ्यांकलाई हेर्दा १९ देखि २५ वर्षका युवायुवती सबैभन्दा धेरै छन् । किशोर १८ जना र किशोरी १ सय ५० जना गरी जम्मा १ सय ६८ जना बेचबिखनमा परेका छन् ।
बेचबिखन हुनेमा २६ देखि ३५ वर्षका युवायुवती दोस्रो स्थानमा छन् । ३८ जना युवा र १ सय १० जना महिला गरी १ सय ४८ जना बेचबिखनमा परेको उजुरी ब्यूरोमा आएको छ ।
मानव तस्करले विभिन्न लोभलालच देखाइ, औषधि उपचार लगायतका विभिन्न बहानामा मानव बेचबिखन गर्ने गरेको एसएसपी कार्कीले बताए । मानव बेचबिखन अनुसन्धान ब्यूरो २०७६ वैशाखमा स्थापना भएपछि ११ वटा मुद्दा दर्ता भएका छन् भने १२ जना पक्राउ परेका छन् ।
भारतका ३ जना, दुबईका ११ जना, लिबियाका ९ जना, कुर्दिस्तानका २ जना, बंगलादेशका २ जना, पाकिस्तानका १ जना र क्यानडाका १ जना गरी २९ जना मानव बेचबिखन गर्ने फरार रहेको बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।
२०७६ वैशाखयता मानव बेचबिखन ब्यूरोले २ सय ५१ जनाको उद्धार गरेको छ । पुरुष ५५ जना र महिला १ सय ९६ जनाको उद्धार गरिएको छ ।
लोकान्तरमा गगन अर्यालले लेखेका छन ।
आफ्नो प्रतिकृया दिनुहोस्