काठमाडौं, १८ असार – किर्ते अग्रिम भुक्तानी जमानत तयार गर्ने बैंकिङ कसुर कार्यमा संलग्न ३ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले आइतबार विभिन्न ठाउँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने झापा महारानी झोडा(९ का ५४ वर्षीय छविलाल ढकाल, धनकुटा महालक्ष्मी नगरपालिका-७ बस्ने ५३ वर्षीय रणधीर तुम्बा र ललितपुर महालक्ष्मी नगरपालिका-२ बस्ने बाजुराका ३८ वर्षीय देवजंग शाही रहेका छन् । उनीहरुमध्ये ढकाललाई भक्तपुरबाट, तुम्बालाई सुनसरी धरानबाट र शाहीलाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालय, रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याड समेत अनाधिकृत रुपमा दुरुपयोग गरी उक्त बैंकको कर्पोरेट बैंकिङ कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत (निलम्बित) ढकाल तथा M/S MK-YP J/V बबरमहल काठमाडौंका आधिकारिक प्रतिनिधिद्वय तुम्बा र शाही समेतको मिलेमतोमा बैंकलाई हानी नोक्सानी पुर्याउने बदनियत राखी १० जुन २०१६ मा ५५ लाख ५० हजार रुपैयाँ र ४ नोभेम्बर २०१६ मा ५५ लाख ५० हजार रुपैयाँको किर्ते अग्रिम भुक्तानी जमानत तयार गरी विभिन्न ठेक्का सम्झौतामा पेश गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरु उपर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको सो व्यूरोले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्