चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ किरातिछापका रवि केसीको मृत्यु भएपछि आफन्तले छानविनको माग गरेका छन् ।
भोजपुर घर भै बुबा ध्रुब केसी र आमा रीता केसीसंग किरातिछाँप स्थित मामा घरमा बस्दै आएका केसीको विहिवार मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले पेटमा समस्या आएपछि उपचारको लागि काठमाडौँ लाने क्रममा रविको बाटोमै मृत्यु भएको बताए । प्रहरी निरीक्षक प्रधानका अनुसार रविलाई आफन्त सहित सुरुमा चरिकोट प्राथामीक उपचार केन्द्रमा लगिएको र त्यहाँ ठिन नभएपछि थप उपचारको लागि काठमाडौँ लाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृतकको परिवारले रवि १४ बर्षकोमात्र भएको र उनलाई प्रहरीले कानुन विपरित हिरासतमा राखेको आरोप लगाएको छ । आफन्तले मृत्युबारे छानविन गर्न र घट्नामा संलग्नलाई कार्वाहि गर्न माग सहित जिल्ला प्रशासन कार्यालय दोलखामा निवेदन दिएका छन् । मृतक रविलाई सार्वजनिक अपराधको मुद्दा दर्ता गरी चार दिन देखि हिरासतमा राखिएको थियो । प्रहरीले रविलाई आफन्तको जिम्मा लगाई सकेपछि मृत्यु भएको बताएको छ ।
मृतक रविले अघिल्लो बर्षसम्म अध्यन गरेको विद्यालयको तथ्याङ्क अनुसार पनि उनको उमेर १४ बर्ष भएको आफन्तहरुको भनाई छ । प्रहरीले भने रविको उमेर १८ बर्ष भएको दावि गरेको छ ।
रविको मृत्यु रहस्यमय रहेको भन्दै आफन्तले शव बुझ्न समेत अस्वीकार गरेका छन् । मृतकको हजुर बुबा चन्द्रबहादुर कार्की नातिलाई कस्को उजुरीमा किन ल्याईएको हो त्यसबारे स्पष्ट गर्नु पर्ने बताउछन् । प्रहरीले विहिवारमात्र विरामी भएको भनि आफुहरुलाई जानकारी गराएको चन्द्रबहादुरको भनाई छ । मृतक रवि सुस्त मनस्थितिको भएको पनि चन्द्रबहादुरले बताए ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण बिक्रम थापाले घट्नाबारे छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टको संयोजकत्वमा जिल्ला न्यायधिवक्ताको कार्यालयको अधिकृत र डक्टर सदस्य रहेको तीन सदसिय छानविन समिति बनाएको जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी थापाले आफन्तले मृतकको शव पोष्मार्टम गर्न सहयोग गनुृ पर्ने बताउनु भयो । घट्नाको निष्पक्ष छानविन हुन्छ, त्यसैले मृतकको परिवारले पनि पोष्मार्टम गरी छानविन गर्न सहयोग गनुृ पर्छ – प्रजिअ थापाले भन्नु भयो ।