काठमाडौं । प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषदबाट श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी पाएका दीपककुमार साह फिर्ता भएका छन्।
महोत्तरी–२ बाट निर्वाचित साह मन्त्री बनेसँगै विवादमा तानिएपछि फिर्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई पत्र पठाएका छन्।
लामिछानेले पार्टीको अनुशासन समितिले कारबाहीका लागि सिफारिस गरेका कारण पार्टी विधानको ‘राइट टु रिकल’को व्यवस्थाअनुसार फिर्ता गर्न प्रधानमन्त्रीसमक्ष पत्र पठाएका हुन्।
उनले विहीबार पत्र पठाएका छन्। सभापति लामिछानेले मन्त्री साहकी पत्नीलाई नियुक्त गरेको विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराएको उल्लेख छ।
रास्वपाको अनुशासन समितिले मन्त्री साहमाथि छानबिन गरी फिर्ता बोलाउनका लागि सभापति लामिछानेलाई सिफारिस गरेको थियो।
अनुशासन समितिका कार्यबाहक प्रमुख रमाकान्त रिमालले मन्त्री साहलाई अनुशासनको कारवाहीका लागि सिफारिस गरेका थिए।
साहपत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः नियुक्त गरिएको विषयले विवाद थप चर्किएको छ।
साहको यसबाहेक अन्य विवादका विषय पनि प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेसम्म पुगेको बताइन्छ।


























आफ्नो प्रतिकृया दिनुहोस्