काठमाडौं । राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै १७ जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जना र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चार जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको बताइएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ‘काभ्रेली समूह’मा आबद्ध व्यक्तिहरू बढी रहेका छन् । पक्राउ पर्नेमा सञ्जिव लामा, अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ लगायत रहेको बताइएको छ ।
अशोक गिरी केही समय अगाडि डिएसपीलाई सरुवा गराइदिने धम्की दिएको आरोपमा पनि पक्राउ परेका थिए । उनी जमलको मायालु सेन्टरमा दोहोरी चलाउँदै आएका थिए । दोहोरीको टेबुलमा ग्राहकसँग युवती बसाउने र ठग्ने गरेको उजुरी प्रहरी कहाँ पुग्ने गरेका थिए ।
सुरेश गुरुङ कुख्यात गुन्डा नाइके श्याम लामा समूहका सदस्य भएको जनाइएको छ । श्याम लामा भने हाल फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईं पनि पक्राउ परेका छन् ।
प्रवीण तामाङ बौद्ध क्षेत्रमा, बिर्जु महर्जन कालंकी–बाफल क्षेत्रमा, सुजन कार्की कलंकी क्षेत्रमा तथा सरु हुमागाईं स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहेको बताइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
























आफ्नो प्रतिकृया दिनुहोस्