काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार उम्मेदवार र दलको प्रवर्धन हुने गरी प्रचारप्रसार गर्न पाउने छन् । फागुपूर्णिमा पर्व पनि परेका कारण कतिपय उम्मेदवारले अन्तिम दिनमा आन्तरिक बैठकमा केन्द्रित हुने रणनीति बनाएका छन् ।
प्रतिनिधि सभा निर्वाचन, २०८२ को प्रयोजनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ । आयोगले यस अवधिमा पालना गर्नुपर्ने विशेष आचरण तोकेको छ । जस अनुसार निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।
त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन पनि नहुने आयोगले जनाएको छ ।
आयोगले मौन अवधिमा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण पनि तोकेको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम गर्न नहुने आयोगले जनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार तथा राजनीतिक दलले गतिविधि गरेमा उक्त उम्मेदवारको मनोनयन नै रद्द गरिने छ । शून्य समय अथवा मौन अवधिमा उम्मेदवार पनि शून्यमै बस्नुपर्ने बताउँदै भण्डारीले भने, “यो समयमा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउँदैनन् । बरु निर्वाचन प्रचारका क्रममा मतदातासमक्ष के कस्ता प्रतिबद्धता जनाइएको छ, त्यसलाई निर्वाचनपछि कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा उम्मेदवारले योजना बनाउनु पर्छ ।” आफू मत माग्न जाँदा मतदाताको प्रतिक्रिया कस्तो रह्योलगायतका विषयमा पनि समीक्षा गर्ने समयका रूपमा मौन अवधिलाई सदुपयोग गर्नुपर्ने भण्डारीले बताए ।
























आफ्नो प्रतिकृया दिनुहोस्