मलङ्गवा – सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिका–१० मा आइतबार साँझ सब–इन्जिनीयरको गोली हानी हत्या गरिएको छ।
पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिकाका सब–इन्जिनीयर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
अज्ञात व्यक्तिले छातीमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। अस्पताल पुर्याेएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राईले बताए। उनलाई डेरामा बसिरहेको अवस्थामा केही काम छ भनी बाहिर बोलाएर गोली हानिएको जनाइएको छ ।
मृतक यादव मलङ्गवा–१० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका थिए। घटनाबारे अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

























आफ्नो प्रतिकृया दिनुहोस्