काठमाडौं । खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले जिम्मेवारीपूर्ण ब्याटिङ गरेपछि वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको सुझबुझपूर्ण ब्याटिङका मद्दतले उक्त लक्ष्य प्रस्तुत गरेको हो । नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन बनाउँदै उक्त लक्ष्य दिएको हो ।
उपकप्तान दीपेन्द्र सिं ऐरीले संघर्षपूर्ण ब्याटिङ अर्धशतकीय पारी खेलेपछि नेपालले मध्यम लक्ष्य दिएको हो । उनले ४७ बलमा ५८ रन बनाएका थिए । उनले ३ चाैका र ३ छक्कासहित उक्त रन बनाएका थिए । लगातार विकेट गुमाएपछि चरम दबाबमा परेको नेपालका लागि उनले सुझबुझपूर्ण ब्याटिङ गरेका थिए ।
पहिलो ओभरमा नै कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको थियो भने पाँचौं ओभरमा आशिफ शेखलाई गुमाएको थियो ।
त्यसपछि ब्याटिङका लागि आएका आरिफ शेख पनि २ रनमा आउट भएपछि नेपालले २३ रन बनाउँदा चार विकेट गुमाएको थियो ।
नेपालका लागि लोकेश बमले १३ रन बनाउँदा गुल्सन झाले ११ रन बनाएर आउट भएका थिए । त्यस्तै जारी विश्वकपमा पहिलो खेल खेलेका सोमपाल कामीले २६ रन बनाए । उनी आजको खेलमा मैदानमा उत्रिएसँगै नेपालका तीनवटै विश्वकप खेल्ने एकमात्र खेलाडी बनेका छन् । करण केसी अन्तिम बलमा १ रन बनाउँदै आउट भएका थिए ।
वेस्टइन्डिजका लागि जासोन होल्डरले ४ विकेट लिएका थिए भने अकेशल होसिन, म्याथु फोर्ड, शमर जोशेफ र रोस्टन चासले १/१ विकेट हात पारेका थिए ।



























आफ्नो प्रतिकृया दिनुहोस्