काठमाडौं । नेपाल प्रहरीमा महिला सहभागिता थप सशक्त बन्दै गएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) आधारभूत तालिम १-१८३औँ समूहको दीक्षान्त समारोहमार्फत सोनिया लिम्बुसहित ९ जना महिला इन्स्पेक्टर दीक्षित भएका छन् ।
सोमबार राजधानीमा सम्पन्न दीक्षान्त समारोहमा कुल ९२ जना इन्स्पेक्टर पासआउट भएका हुन् । दीक्षित हुनेमध्ये ८३ जना पुरुष र ९ जना महिला रहेका छन् । सीमित संख्यामा भए पनि महिला इन्स्पेक्टरको उपस्थितिलाई प्रहरी संगठनभित्र सकारात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।
यस समूहबाट दीक्षित महिला इन्स्पेक्टरहरूमा सोनिया लिम्बु, कल्पना घर्ती, अस्मिता गोदार, प्रमिला कार्की, सोनी न्हेम्हाफुकी, ज्ञानुमाया थनेत, जानुका श्रेष्ठ, मीना शाही र समीक्षा तामाङ रहेका छन् । उनीहरूले २०८१ असार ९ गते प्रकाशित नतिजामार्फत प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।
१८ महिनासम्म चलेको कठोर तालिम सफलतापूर्वक पूरा गरेपछि उनीहरू सोमबारदेखि नै फिल्ड ड्युटीमा खटिने भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, दीक्षित इन्स्पेक्टरहरूलाई आसन्न निर्वाचनको सुरक्षामा महत्वपूर्ण जिम्मेवारीसहित परिचालन गरिनेछ ।
महिला इन्स्पेक्टरहरूको दीक्षान्तले नेपाल प्रहरीमा लैंगिक समावेशिता र नेतृत्वमा महिलाको पहुँच विस्तार हुँदै गएको सन्देश दिएको छ । सुरक्षा निकायमा महिलाको भूमिकालाई अझ सशक्त बनाउने दिशामा यो कदम महत्वपूर्ण मानिएको छ ।





























आफ्नो प्रतिकृया दिनुहोस्