काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र रूपमा १ हजार १८७ जनाले मंगलबार मनोनयन दर्ता गरेका हुन् ।
प्रतिनिधिसभाका अघिल्ला दुई निर्वाचनको तुलनामा यस पटक बढी उम्मेदवारी परेको हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २ हजार ४११ र २०७४ मा १ हजार ९४४ जना उम्मेदवार थिए । यस पटक पनि नाम फिर्ता लिने तथा दाबी विरोधपछि उम्मेदवारको संख्या केही घट्न सक्छ ।
कुल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८, महिला ३९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । लैंगिक अल्पसंख्यक समुदायको समावेशी समाजवादी पार्टीले भने आफ्नो तर्फबाट ६ जना प्रतिस्पर्धामा उत्रिएको जनाएको छ ।
आयोगका अनुसार २५–३५ वर्ष उमेर समूहका ५८३, ३६–५० वर्ष उमेर समूहका १ हजार ६१०, ५१–६५ वर्ष उमेर समूहका १ हजार ९० र ६५ वर्षमाथिका २०१ उम्मेदवार छन् । यस पटक प्रमुख राजनीतिक दलहरूबीच चुनावी गठबन्धन छैन ।
कांग्रेस र एमालेले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । नेकपाले १६४, रास्वपाले १६३, राप्रपाले १६३, नेमकिपाले १२१, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टी १०८, आम जनता पार्टी १०२, जसपा नेपालले ९५, प्रगतिशील लोकतान्त्रिक पार्टी ९२ र जनमतले ६१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

























आफ्नो प्रतिकृया दिनुहोस्