तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बस निकाल्ने क्रम जारी छ। नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।
बस २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ ।
घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताए। हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

























आफ्नो प्रतिकृया दिनुहोस्