रौतहट । प्रहरीले रौतहटमा एक लाख १८ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्लाको ईशनाथ नगरपालिका-४ लत्मरी टोलमा खोटा नेपाली मुद्रा लिएर हिँडिरहेका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मठिया महुलिया प्रहरी चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मठियाबाट खटिएको संयुक्त गस्ती टोलीले मंगलबार अपराह्न करिब साढे ४ बजे भारततर्फबाट नेपाल प्रवेश गरिरहेको बीआर-०५-एटी-०९८३ नम्बरको मोटरसाइकल चेकजाँचका लागि रोक्न खोज्दा ती युवकहरू खेततर्फ भाग्न खोजेका थिए ।
भाग्ने क्रममा उनीहरूले नेपाली एक हजारका ११८ थान जाली नोट फालेर उम्कन प्रयास गरे पनि प्रहरीले तत्कालै पछ्याउँदै तीनै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थलमै फालिएको खोटा नोट र प्रयोग गरिएको मोटरसाइकल संकलन गरी सुरक्षित राखिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा देवाही गुनाही नगरपालिका- ४ का अन्दाजी २० वर्षीय अजय पटेल, त्यही स्थानका २१ वर्षीय गेनालाल पटेल तथा भारत बिहार, मोतिहारी पूर्वी चम्पारण वडा नं. २ कुडवा चैनपुरका २३ वर्षीय जयप्रकाश कुमार छन्।
उनीहरूलाई प्रारम्भिक बयानका लागि प्रहरी चौकी मठिया महुलियामा राखिएको छ । सीमावर्ती क्षेत्रको फाइदा उठाउँदै खोटा नोट नेपाली बजारमा आपूर्ति गर्ने उद्देश्यले नक्कली नोट भारतबाट ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनास्थलमा फेला परेको तीनवटा मोबाइल फोन र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी प्रदीप विष्णु बस्यालले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।






























आफ्नो प्रतिकृया दिनुहोस्