काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वचालित हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।
कार्यालयका अनुसार गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियार लुकाएको विशेष सुराकीका आधारमा सहायक हवल्दार हरिबहादुर क्षेत्रीसहितको टोलीले उनीहरूलाई सुन्धाराबाट पक्राउ गरेको हो।
पक्राउ परेकामा काठमाडौँ महानगरपालिका–१४ कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला दुहुँ–४ का १९ वर्षीय रामचन्द्र कुँवर .(डेबिड) र काठमाडौँ महानगरपालिका–१३ बाफलका ३१ वर्षीय विराट प्रसाद जोशी छन्। रसिल जोशी लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । उनी भदौ २४ गते प्रहरी हिरासतबाट फरार भएका थिए।
प्रहरीले उनीहरूको साथबाट नेपाल प्रहरीले प्रयोग गर्ने टाइप ५४ स्वचालित पेस्तोल एक थान र विभिन्न कम्पनीका दुई मोबाइल बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
अपराध अनुसन्धानमा काबिल मानिएका सहायक हवल्दार क्षेत्री विभागीय मूल्य, मान्यता र आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तरिकाले अपराध अनुसन्धानको क्षेत्रमा योगदान पुर्याएकोले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
उनलाई विशेष गरी अवैध हातहतियारसहित विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरु, अवैध कारोबारीलगायत आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानुनी कारबाहीको दायरामा ल्याउन महत्वपूर्ण कार्य गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको थियो ।

























आफ्नो प्रतिकृया दिनुहोस्