काठमाडौं । सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि पुस २७ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव सोमबारको बैठकमा ल्याउने संस्थापन पक्षले तयारी गरेको छ।
डेढ महिना लामो केन्द्रीय समिति बैठकले निर्णय गर्न नसकेपछि सभापति शेरबहादुर देउवाले करिब सहमति नजिक पुर्याएका हुन्। गत असोज २९ गते विशेष महाधिवेशनका लागि बहुमत सदस्यको हस्ताक्षर बुझाइएको थियो।
विधानको व्यवस्थाअनुसार तीन महिना अर्थात् पुस २८ भित्र नियमित महाधिवेशन नभए पनि विशेष महाधिवेशन हुनैपर्ने पक्षमा इतर समूहले दबाव बढाएपछि संस्थापन पक्ष तयार भएको हो।
संस्थापन पक्षका ७ नेताहरू चुनावपछि नै महाधिवेशन भन्ने अडानमा रहे पनि अधिकांश नेताले दबाव दिएपछि देउवाले पार्टी विभाजन हुन नदिन पुसमै महाधिवेशनमा जान सुझाएका हुन्।
देउवाको सुझावपछि संस्थापन पक्षका नेताहरू केही सकारात्मक देखिएका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केही दिनयता सभापति देउवाकै निवासमा दुबै पक्षका नेताहरूलाई बोलाएर छलफल चलाएका थिए।
ती छलफलमा पनि सहमति हुन नसकेपछि आज दिनभरको थप तयारीमा भोलिको बैठकमा उपसभापति खड्काले नयाँ प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। उक्त प्रस्ताव आएपछि मात्र प्रतिक्रिया दिने नेता कृष्ण सिटौलाले जवाफ दिए।
यसैगरी प्रवक्ता प्रकाशशरण महत कार्यकाल सकिने वेला विशेष महाधिवेशनको औचित्य नभएको तर्क गर्छन्।





























आफ्नो प्रतिकृया दिनुहोस्