काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध युवा–विद्यार्थी शक्तिले पार्टीभित्र बढ्दै गएको गुटगत विवाद, विशेष महाधिवेशनको दबाब र संगठन तहसनहस पार्ने प्रयासविरुद्ध मंसिर १२ गते तिनकुनेस्थित रोयल बैंक्वेटमा बृहत् युवा–विद्यार्थी भेला आयोजना गर्ने भएको छ। पार्टीलाई मजबुत बनाउने एक मात्र माध्यम नियमित अधिवेशन भएकाले यसैका पक्षमा देशभरका युवा–विद्यार्थी आस्थावानहरू राजधानीमा भेला हुने तयारी भइरहेको हाे।
विशेष महाधिवेशनलाई ‘पार्टी कमजोर बनाउने खेल’ ठहर गर्दै नेताहरूले समयमै नियमित महाधिवेशन घोषणा गर्न नेतृत्वमाथि दबाब सिर्जना गर्ने स्पष्ट सन्देश दिएका छन्। यसैबारे रणनीतिक तयारी गर्न युवा–विद्यार्थी नेताहरूको संयुक्त बैठक आज जमलस्थित यलो पगोडामा तयारी बैठकमा सम्पन्न भएकाे छ। बैठकमा बैठकमा पार्टीका भ्रातृ संस्थाका केन्द्रीय सदस्यहरू, महिलासंघ, किसान महासंघ, तरुणदल, युवा विद्यार्थी संघ तथा देशभरका युवा विद्यार्थी कार्यकर्ताको सहभागिता थियो।

सहभागी नेताहरूले विशेष महाधिवेशनलाई ‘आस्थामाथि आघात’ तथा संगठनविरुद्धको ‘अस्वाभाविक अभ्यास’ भन्दै कडा आपत्ति जनाए। बैठकपछि तरुण दलका केन्द्रीय सदस्य तथा युवा नेता रोशन पाण्डेले पत्रकारहरूसँग कुरा गर्दै भने,
“काँग्रेसलाई फुट होइन, महाधिवेशन चाहिएको छ। विशेषको खेलले पार्टीलाई थला पार्छ, संगठन तहसनहस हुन्छ। हामी नियमित अधिवेशनमार्फत मात्रै काँग्रेसको अस्तित्व सुरक्षित हुन्छ भन्ने सन्देश बोकेर सडकमा उत्रिँदैछौँ।”
कार्यक्रमको दिन विभिन्न जिल्लाबाट हजारौँ युवा विद्यार्थी कार्यकर्ता र्यालीसहित काठमाडौं प्रवेश गर्ने तयारी भइरहेको छ। भेलामा लोकतान्त्रिक उत्तराधिकार, नियमित अधिवेशनको अनिवार्यता, पार्टीभित्रको गुटगत विभाजन अन्त्य लगायत विषयमा धारिलो राजनीतिक सन्देश दिइनेछ।
भेलामा नियमित अधिवेशनको मर्म, लोकतान्त्रिक उत्तराधिकार प्रणाली र युवा–विद्यार्थी रोलमोडेल नेतृत्वबारे धारिलो सम्बोधन हुने जनाइएको छ। आयोजक समितिले भनेकाे छ, “मंसिर १२ को मञ्चबाट विशेषको अराजकताविरूद्ध अन्तिम युवा अल्टिमेटम जारी हुनेछ। पार्टीलाई कमजोर बनाउने कदम सह्य हुने छैन। अहिले पार्टीलाई नेतृत्व हस्तान्तरणको लोकतान्त्रिक संस्कार, समयमै अधिवेशन र गुटभन्दा माथि उठेको संगठन चाहिएकाे छ। त्यसैका लागि नेपाली कांग्रेस सम्बद्ध युवा–विद्यार्थी शक्ति निर्णायक आन्दोलनको मोर्चामा उत्रिँदैछ।”




























आफ्नो प्रतिकृया दिनुहोस्