काठमाडौं । केन्द्रीय कार्यसमितिको आघिल्लो दिन बुधबार कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले भेला आयोजना गरेका छन्। देशभरबाट आएका महाधिवेशन प्रतिनिधि र केन्द्रीय नेताहरूको सहभागितामा दिउँसो १ बजे राष्ट्रिय सभागृहमा भेला बोलाइएको छ।
भेलाले ५४ प्रतिशत सांसदको हस्ताक्षरको आधारमा विशेष महाधिवेशन तोक्न केन्द्रीय कार्यसमितिलाई ‘अल्टिमेटम’ दिने महाधिवेशन पक्षधर नेता मनोजमणि लामिछानेले जानकारी दिए।
केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दैछ। शनिबार बसेको बैठकले निर्वाचनमा जाने निर्णय गरे पनि महाधिवेशनको विषय टुंग्याएको थिएन। बरु निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णयमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेपछि विवाद झनै सतहमा आएको छ।
देउवा सक्रिय हुँदा महाधिवेशन सार्ने प्रयत्न भएको बुझेको इतर पक्ष दबाबको रणनीतिमा लागेको हो। नेताहरुका अनुसार यो बैठक नियमित महाधिवेशन वा विशेष महाधिवेशनको निर्णय नगरी धर पाउने छैन। आजको भेलाले कार्यसमितिलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरेको लामिछानेले जानकारी दिए।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै असोज २९ केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गराएका थिए।



























आफ्नो प्रतिकृया दिनुहोस्