काठमाडाैं -विगत लामो समयदेखि भ्रष्टाचारको दलदलमा फसिरहेको वीर अस्पतालमा केही समयदेखि सुधारको संकेतहरु देखिए पनि फेरी केही व्यक्तिहरुको निहीत स्वार्थले पुनः बिग्रन थालेको छ ।
वीर अस्पताल सर्जिकल भवन सञ्चालन, दुवाकोट परियोजना शुरू, नयाँ सेवा थपसहित सुधारोन्मुख देखिँदा अस्पतालमा सरुवा भएर आएका छन् शाखा अधिकृत डमरु दाहाल । वीर अस्पतालमा विगत लामोसमयदेखि अनियमितता गर्दै आएका भनिएका खरिद प्रमुख भगवती थपलिया, नक्कली मेडिकल बोर्ड वाला र कोभिड भ्यासिन बेचेको आरोप लागेका टिकाराम पनेरु र व्यापारी लक्ष्मण गौतमसँग दाहालले साँठगाँठ गाँसेको स्रोतले जनाएको छ ।
रोशी गाउँपालिका काभ्रेबाट भ्रष्टाचारको आरोप लागेपछि सरुवा भएर आएका दाहाल वीर अस्पतालमा मेडिकल माफियाकै योजना बमोजिम सिधै खरिद एकाईमा सरुवा भई आएको स्रोतले जनाएको छ । वीर अस्पतालको प्रशासनमा वर्षौं काम गरेपछि मात्रै खरिद शाखामा काम गर्न पाइनेमा दाहालले सरुवा हुनेबित्तिकै खरिद इकाईमा हाजिर भएका छन् । उनले अहिले आफूलाई अख्तियार, प्रहरीका साथै सामान्य प्रशासन र स्वास्थ्य मन्त्री निकट दाबी गर्दै सबै कोटेशन र उपकरण खरिदको फाइल कब्जा गरी आफु निकटसँग महंगो मूल्यमा कमसल सामान लिएर कमिशन खाने गरेको स्रोतले जनाएको छ ।
उनले खरिद प्रमुख र अस्पताल निर्देशकलाई समेत माथि पहुँच छ भन्दै अटेर गर्दै अस्पतालको मेडिकल, सर्जिकल, केमिकल, सरसफाइ, माइक्रोस्कोप, छपाईलगायतको टेन्डर लक्ष्मण गौतम नामका व्यापारी र मेडिकल स्टोरका नक्कली मेडिकल बोर्डवाला को आरोप लागेका टीकाराम पनेरुसँगको मिलेमतोबाट करोडौं अनियमितता गरेको स्रोतले जनाएको छ । उनले दाँतसम्बन्धी Nams/ncb/78/79/45, Neuro surgery Nams/ncb/78/79/44, र IFB NO: NAMS/Ncb/78/79/39 टेण्डर आह्वान हुनुअघि नै व्यापारीसँगको साँठगाँठमा व्यापारीकै स्पेक अनुसारको टेण्डर निकाली महंगोमा गुणस्तरहीन सामान भित्र्याउन लागेको स्रोतले जनाएको छ ।
दाहालकै योजनामा अस्पतालले आह्वान गरेको ओटी लाइटको टेण्डर युरोलोजी विभागका विवादित डा. अनिल श्रेष्ठलाई जिम्मा दिइएको थियो । उनले स्पेसिफिकेशन बनाउँदा आफू निकटको फर्म केएलएस मार्टिनलाई मात्र हुने गरी स्पेक बनाएको आरोप लगाउँदै अहिले उपकरण बजारमा विवाद देखिएको पनि स्रोतले जनाएको छ ।
कतिपय व्यावसायीहरुले आफूहरूलाई टेन्डर फाराम भर्न नपाउने गरी स्पेफिकेशन बनाएको भन्दै डा अनिल, डमरु दाहाल र योजनाकार भगवतिबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय, सम्पति शुदिद्करण र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिने समेत तयारी गरिरहेको जनाइएको छ ।
त्यस्तै युरोलोजी विभागको ४ करोडको सामानमा पनि डा अनिल र खरिद एकाईका डमरु दाहालले टेन्डर हुनु भन्दा पहिले नै व्यपारीसँग कमिसन लिँदै होटल नै पुगेर स्पेक बनाएको स्रोतले जनाएको छ । पूर्वखरिद प्रमुख भगवति थपलियामार्फत अस्पताल प्रशासनलाई दवाव दिई सोही अनुसार टेन्डर आह्वान गर्न लगाइएका छन् । डा. अनिल माथि वीर अस्पतालमा उपचार गराउन आउने बिरामीलाई अस्पतालमा बेड छैन भन्दै राजधानीका विभिन्न निजी अस्पतालहरुमा बिरामी पठाएर कमिशन खाने गरेको समेत आरोप लागेको छ ।
डा. अनिलले बिरामी बाहिर पठाएर र थपलिया र दाहालले टेन्डर, कोटेशन र उपकरणलगायत विभिन्न सामाग्रीको खरिदबाट अकूत सम्पत्ति कमाइरहेका छन् । भगवतीले छोरीको नाममा Freshmint dental clinic कम्पनी खोली लगानी गरेको स्रोतले जनाएको छ । भगवती अहिले अस्पतालकै बेरुजु शाखामा बसेर अर्को अनियमिततामा सरिक भएको स्रोतको दाबी छ । उनी आफूले गरेका कतिपय कामको बेरुजु मिलाउन सोही शाखामा गएको अस्पतालका कर्मचारीहरु बताउँछन् । प्रशासनमा कार्यरत एक कर्मचारी भन्छन्, ‘भगवतीलाई कागजपत्र मिलाउन धौ–धौ परिरहेको छ, पुराना ब्यापारी बोलाउँदै यो मिलेन त्यो मिलेन, मिलाउन पर्छ भन्दै अझै पैसा झारिरहेकी छिन् ।
केही ब्यापारी तथा अस्पतालका चिकित्सक, कर्मचारीले शाखा अधिकृत डमरु दाहाल, डा अनिल श्रेष्ठ, टिकाराम पनेरु र भगवती थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण, सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालयमा उजुरी दिने तयारीमा रहेका जनाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्