काठमाडौं । अङ्ग्रेजी महिनाको जनवरी १ तारिख (पौष १७ गते) अन्तर्राष्ट्रिय नेपाली टोपी दिवश मनाउन विश्वव्यापी रूपमा नेपाली टोपी प्रतिष्ठानले अपिल गरेको छ । नेपाली युवाहरूको अगुवाईमा विगत ७ वर्षदेखि अंग्रेजी नववर्षको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आइरहेकोमा यसवर्ष पनि त्यस कार्यले निरन्तरता पाउने भएको कुरा नेपाली टोपी प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले एक विज्ञप्ति निकाली भनेको छ– ‘यस वर्ष हामीले आठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदछौं । नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य सो दिनलाई नेपाली टोपी दिवसको रूपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली वा नेपालीमूलका नागरिक एवम् सम्पूर्ण नेपालीभाषीहरूको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउनु रहेको छ ।’
प्रत्येक देशको आ–आफ्नै पहिचानका बस्त्र हुने गरेकोमा नेपाली टोपी पनि नेपाली नागरिक, संसारभर फैलिएका नेपाली भाषी एवम् नेपाली मूलका नागरिक सबैको नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित होस् भन्ने उद्देश्यका यस अभियानको थालनी भएको विज्ञप्तिमा उल्लेख छ ।
संस्थापक अभियन्ता डा।लेखनाथ काफ्ले र शंकर बन्जाडेले सामाजिक संजालबाट सुरु गरेको यस अभियानलाई संस्थागत र थप व्यवस्थित बनाउन ‘नेपाली टोपी प्रतिष्ठान’ नामक संस्था पनि गठन भइसकेको छ भने नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलको विशेष पहलमा हालसम्म विश्वका ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भइसकेका छन् र थप गठन हुने प्रक्रियामा रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
प्रतिष्ठानले विश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहरूलाई यही पौष १७ गते ९जनवरी १ तारिख, २०२१० का दिन आफ्नो अवस्था अनुसार नेपाली टोपी पहिरेर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानको रूपमा नेपाली टोपीलाई व्यापक रूपमा स्थापित गराउन सहयोग गर्न अपिल पनि गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्