मोरङ । प्रहरीले विराटनगबाट एक जना नामुद मिटर ब्याजीलाई पक्राउ गरेको छ । गैरकानुनी मानिएको मिटर ब्याजको अवैध धन्दा विराटनगरमा फस्टाउँदै गएपछि प्रहरीले कारबाही पनि तीव्र पारेको छ ।
मिटर ब्याजमा पैसा लगाएर अवैध रुपमा आर्जन गर्ने गरेको पाइएपछि विराटनगर महानगरपालिका– ९ घोघापुल चोकबाट ४५ वर्षीय मन्टु भनिने सञ्जय रौनियारलाई प्रहरीले पक्राउ गरेको हो । पीडितले दिएको उजुरीका आधारमा सोमबार साँझ उनी पक्राउ परेका हुन् ।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले रौनियार पक्राउ परेको पुष्टि गर्दै थप विषय अनुसन्धानपछि खुल्ने जानकारी दिए । प्रहरी स्रोतका अनुसार उनले मिटर ब्याजमा लगानी गर्न थालेको एक दशकभन्दा बढी भएको पाइएको छ । चर्को मिटर ब्याजमा पैसा लगाएर ग्रामीण क्षेत्रका बासिन्दासँग करोडौं रुपैयाँ असुल्ने गरेको पाइएको प्रहरीको दाबी छ ।
मन्टुसँग मिटर ब्याजमा आफूले पैसा लिएको र चर्को ब्याज तिर्ननसक्दा उठिबास हुने अवस्थामा पुगेको धनपालथान गाउँपालिका–१ का मञ्जर हुसेनले बताए । उनका अनुसार बाबुआमाले ११ कट्ठा जग्गा धितोमा राखेर चर्को ब्याजमा मन्टुसँग छ लाख रुपैयाँ लिएको पाइएको छ । अहिलेसम्म सावाँ र ब्याज गरेर ३६ लाख रुपैयाँ बुझइसक्दा पनि अझै ३६ लाख तिर्दामात्रै धितो राखेको जग्गा फिर्ता हुने अडान लिएको हुसेनको भनाइ छ ।
प्रहरीले मिटर ब्याजमा पैसा लगाएको हो कि हैन र यदि लगाएको हो भने अहिलेसम्म कति रकम लगाएको तथा असुल गरेकोभन्ने बारेमा पनि अनुसन्धान थालिएको जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट रौनियारले मिटर ब्याजमा लगानी गरेको ऋणको चर्को ब्याज ऋणिले तोकेको समयमा तिर्न नसकेमा ऋण लिएको रकमको थप ५ प्रतिशत बढाउने गरेको पाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्