काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक धुम्बाराहीमा बस्ने भएको छ। शुक्रबार दिउँसो ३ बजे बैठक बस्न लागेको स्रोतले जानकारी दिएको छ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी विवादका विषय सचिवालय बैठकमा छलफल गर्न नमानेपछि प्रचण्डले बैठक बोलाएका हुन्। बहुमत सचिवालय सदस्यको बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाईएको प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले बताए। बैठकमा सचिवालय सदस्यहरु को–को जान्छन् भन्ने विषयलाई महत्वका साथ हेरिएको छ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षले बोलाएको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ,सचिवालय सदस्य रामबहादुर थापा आउने दाबी गरेका छन्।
तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षका नेताहरुले ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल,महासचिव विष्णु पौडेल,गृहमन्त्री रामबहादुर थापा नआउने बताएका छन्। आज बस्ने सचिवालय बैठकबाट पार्टीमा थप विवाद चर्किने देखिएको छ।
अध्यक्ष प्रचण्डलाई मनाउन प्रधानमन्त्रीनिकट स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ शुक्रबार बिहान खुमलटार पुगेका थिए। भेटमा प्रचण्डले आफूले पार्टी विवादका विषयमा बालुवाटार नभई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गर्न बैठक बोलाएको बताएका थिए ।
पार्टी विवादका विषयमा दुई अध्यक्षमात्रै छलफल गरेर केही ननिस्कने बताउँदै प्रचण्डले आफू बालुवाटार छलफलमा नजाने बताएको एक स्थायी कमिटी सदस्यले बताए।
‘दुई अध्यक्ष मात्रै छलफल गरेर केही हुनेवाला छैन । उहाँ (केपी ओली) आफ्नै रटान लगाउनुहुन्छ’ ती स्थायी कमिटी सदस्यले भने, ‘बरु पार्टीभित्र देखिएका सबै विवादका विषयमा सचिवालय बैठकमा छलफल गरौ ।’
आफ्नो प्रतिकृया दिनुहोस्