काठमाडौं । तीन दिवसीय नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथीबाट विभूषित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा एक समारोह आयोजना गरी नरवणेलाई मानार्थ उपाधिको दज्र्यानी लगाइदिएकी हुन् ।
राणाशासक वीर शमशेरको पालादेखि शुरु भएको मानार्थ पदवी आदनप्रदानकै निरन्तरताका रुपमा नरवणे नेपाल भ्रमणमा आएका हुन् । नरवणेले यसअघि भारत अतिक्रमित नेपाली भूमि लिपुलेक–लिम्पियाधुराबारे दिएको विवादस्पद अभिव्यक्तिका कारण उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
नरवणेले नेपालले अतिक्रमित भूमिको कुरा कसैको उक्साहटमा उठाएको आरोप लगाएका थिए ।
राजनीतिक विषयमा सेना प्रमुखले कमै टिप्पणी गर्ने भए पनि दुई मुलुकबीच राजनीतिक र कुटनीतिक संवादशून्यता भईरहेको बेला नरवणेको भनाई आएको थिए ।
यसले नेपाल–भारतबीचको तनाव झन् जटिल मोडमा पुगेको थियो । यो तनाव घटाउने वातावरण बनाउन नरवणेको भ्रमणले सहयोग खेल्ने अनुमान समेत दुवै मुलुकमा छ ।
भोलि पर्वतीय अवलोकनमा सगरमाथा क्षेत्रको उडानपछि नरवणेले रक्षा मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री केपी ओलीलाई शिष्टाचार भेट गर्नेछन् । उनी शुक्रबारै स्वदेश फर्किने कार्यक्रम छ ।
आफ्नो प्रतिकृया दिनुहोस्