स्याङ्जा। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन एक सय ११ जना फरार अभियुक्त पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रहेका कर्तव्य ज्यान, जवर्जस्ती करणी, मानव बेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहु बिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका मुद्धामा लुकिछिपि बसेका ९७ जना पुरुष र १४ जना महिलालाई बुधबार साँझ सम्म पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होमिन्द्र वोगटीले जानकारी दिए ।
पक्राउ पर्नेमा २०५९ साल देखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका जिल्ला स्याङ्जा थुमपोखरा घर भई लामो समय देखि लुकिछिपि नवलपरासी सुनवलमा बस्दै आएका तेजलाल डुम्रे, जवर्जस्ती करणी मुद्दामा लामो समय देखि फरार रहेका बालसिंह गुरुङ, जवर्जस्ती करणी उद्योगमा संलग्न छ जना, हाडनाता करणीमा संलग्न तीन जना, हातहतियार खरजना मुद्दाका तीन जना, लागु औषध मुद्दाका दुई जना लगायत रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत स्याङ्जामा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चलाएको ‘फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत कैद तथा जरिवाना तोकिएको व्यक्ति समाजमा रहदा शान्ति सुरक्षामा चुनौती आउने, अपराध गरे पश्चात पनि बिना सजाय समाजमा रहँदा अपराध गर्न प्रोत्साहित हुने भएकाले प्रतिवादीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन अभियान प्रभावकारी भएको प्रहरीको भनाइ छ ।
दसैँ तिहारको बेलामा अत्याधिक मानिसको आवागमन हुने हुँदा विशेष योजना बनाई लामो समय देखि निगरानी गरी फरार प्रतिवादीहरुलाई जिल्ला भित्रका विभिन्न स्थान र बाहिर जिल्लाबाट समेत समन्वय गरी पक्राउ गरिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्