काठमाडौं । रौतहटमा दर्जनबढीलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
बारा सिम्रौनगढ नगरपालिका-४ का ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो।
सहनीलाई प्रदेश नम्बर २ कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहट बौधीमाई नगरपालिका(७ स्थित नेपाल-भारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए।
सिंहका अनुसार उनी इँटाभट्टाका हेड मिस्त्री हुन्। अफताव आलम र महताब आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो।
पहिलो संविधानसभा निर्वाचनको चुनावलाई लक्षित गरी २०६४ साल चैत २७ गते रौतहट साबिक फरदहवा गाविस(४ का शेख इद्रिसको गोठमा बम विस्फोट गराइएको थियो। सो विस्फोटमा तीन जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए।
ती घाइतेलाई नजिकैको इँटाभट्टामा लगेर जिउँदै जलाइएको थियो। सो घटनामा अफताव पुर्पक्षका लागि कारागार चलान भएका छन्।
प्रारम्भिक अनुसन्धानमा सहनीले घाइते तथा मृतकलाई इँटाभट्टाको थुप्रोमा हालेको स्वीकार गरेको डिआइजी सिंहले बताए।
आफ्नो प्रतिकृया दिनुहोस्