काठमाडौं । शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबी टेलिफोन वार्ता भएको छ।
भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भएको हो। लामो सयमदेखि नेपाल र भारतका शीर्षस्थ राजनीतिक नेतृत्वबीच कुराकानी हुन सकेको थिएन।
भारतीय स्वतन्त्रता दिवसमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका थिए। प्रधानमन्त्री ओलीले भारत र भारतीय जनताको समृद्धि र प्रगतिको पनि कामना गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्रीहरूबीच कोभिड-१९ महामारी रोकथामका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ। कोरोना संक्रमण रोक्नका लागि नेपाल गरेका प्रयासबारे पनि छलफल भएको थियो। कोभिडविरुद्धको भ्याक्सिन चाँडै विकास हुनुपर्ने र यसमा विश्वभरका वैज्ञानिकलाई चाँडै सफलता मिलोस् भन्ने कामना प्रधानमन्त्री ओलीले गरेका थिए।
भारत संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्य भएकोमा समेत ओलीले मोदीलाई बधाइ ज्ञापन गर्दै सफलताको कामना गरेका थिए। उनीहरूले आगामी दिनमा संवाद जारी राख्ने सहमति गरेका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्