काठमाडौँ । प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसुचीमा राखेको छ । गत असार ३१ गते प्रकाशित समाचार सामाग्रीको बिषयमा पुर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले उजुरी गरेपछि काउन्सिलले कारबाही गरेको हो ।
टेलिभिजनबाट प्रसारित सामाग्रीमा– ‘नागरिक समाजका अगुवाहरुलाई समेत भारतले उसको पक्षमा बोलिदिन प्रवक्ता नै बनाएको छ । यसको नेतृत्व भने प्राविधिक रुपमा गठजोड गर्दै प्रधानमन्त्री समेत हुन पुगेका व्यक्ति डा। बाबुराम भट्टराईले गरिरहेका छन् । नेपाललाई नै विघटन गर्नुपर्छ भन्ने जीवनसंगिनी हिसिला यमीलाई पथप्रदर्शक मान्ने डा। भट्टराईलाई अब नेपाली जनताले राम्रैसँग चिन्नेबेला आएको छ । आफ्नो प्रचुर वौद्धिकतालाई भारतको निमित्त खर्च गर्न उहाँका हरेक बिचार नेपालको राजनीति, धर्म, संस्कृती, र अर्थतन्त्रलाई सँधैभरी उल्टो दिशातर्फ मोड्नुमा सँधै प्रयन्तशील देखिन्छ ।’ शब्दावली प्रयोग भएको काउन्सिलले जारि गरेको सुचनमा उल्लेख गरिएको छ ।
भट्टराईका प्रेस सल्लाहकार पाण्डेले साउन २ गते दिएको उजुरीको आधारमा काउन्सिलले छानविन शुरु गरेको थियो । छानविनको क्रममा टेलिभिजनले तथ्यगत पुष्टिबेगर एकोहोरो, अशिष्ट अमर्यादित शब्दावली प्रयोग गरेको पुष्टि भएपछि काउन्सिलले स्पष्टिकरण माग गर्दै क्षमायाचना सन्देश प्रसारण गर्न निर्देशन दिएको थियो ।
क्षमायाचना पनि सोही संस्थानमार्फत प्रसारण नभएको र स्पष्टिकरण चित्तबुझ्दो नभएपछि काउन्सिलले पुनः टेलिभिजनको ध्यानाकर्षण गराएको थियो ।
काउन्सिलको निर्देशन अवज्ञा गरेपछि टेलिभिजनलाई कालोसुचीमा राख्ने निर्णय भएको भएको काउन्सिलका उप प्रशासकिय अधिकृत रामशरण बोहराले बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्