वीरगञ्ज । पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।
प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।
पर्सामा कोरोना संक्रमितको संख्या बढेसँगैँ भोलिदेखि जिल्लाभर निषेधाज्ञा जारी गरिने भएको छ । कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिन थालेपछि र संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिवार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिकामा मात्रै निषेधाज्ञा लगाइएकोमा पछिल्लो परिस्थितिको विश्लेषण गर्दै जिल्लाभर विस्तार गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए ।
अब साउन १९ गते बिहान ५ बजेदेखि पर्सा जिल्ला भरी निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाईने कार्कीले जनाए ।
आफ्नो प्रतिकृया दिनुहोस्