काठमाडौं । सोमबारदेखि सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् ।
सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।
आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले सोमबारबाट यातायात सञ्चालन गर्ने बताएका छन् ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन गर्ने बताए ।
सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए ।
कोभिड–१९ संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।
नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन गरेको उनले बताए ।
हाललाई एक जिल्लाबाट अर्को जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । काठमाडौं उपत्यकाको हकमा भने यो लागू नहुने बताएको छ ।
उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु फाट्टफुट्ट गुडेका छन् । व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्