काठमाडौं । फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत साउन २ गते विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्सामा हत्या गरी फरार भएका एक भारतीय नागरिकलाई ६ वर्षपछि पक्राउ गरेको छ ।
भारत वेतिया पश्चिम चम्पारण घर भइ पर्सा वीरगन्ज १९ टोलमा लुकीछिपी बसोबास गर्दै आएका ४६ वर्षीय धर्मेन्द्र प्रसाद कलवारलाई पक्राउ गरेको हो।
२०७१ बैशाख ९ गते बारा साविक विश्रामपुर गाविस वडा नं.९ मा भारत रक्सौल घर भइ पर्सा वीरगन्ज १९ बस्ने प्रमोद शाह तुरहालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको कलवारमाथि आरोप लागेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी धिराजप्रताप सिंहले बताए।
प्रहरी टोलीले कलवारलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारा बुझाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्