स्याङ्जा । अविरल बर्षाका कारण स्याङ्जाको काली गण्डकी गाँउपालिका ४ खहरेमा पहिरो जनाद दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
पहिरोले बेपत्ता भनिएका मध्ये एक जनाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख विमलराज कणेलले जानकारी दिए ।
सोही पहिरोमा परी २ जना घाइते भएका छन् । पहिरोमा पुरिएर पूर्व गाविस अध्यक्ष इमान सिंह रानाको मृत्यु भएको छ ।
कालीगण्डकी गाउँपालिका वडा नं.४ बिर्घास्थित खहरेमा पहिरो ७० वर्षीय रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । उनी साविकको विर्घा गाउँ विकास समितिका पूर्वअध्यक्ष हुन् ।
बिर्घाकै होमकान्त पाण्डे (किसान) र बुद्ध रानालाई घाइते अवस्थामा उद्धार गरि पाल्पा उपचारका लागि पठाइएको छ ।
रानाको अवस्था सामान्य रहेपनि पाण्डेको अवस्था भने गम्भिर रहेको बताइएको छ । स्थानीय प्रेमचन्द्र पाण्डे, टीका थापा अझै फेला पर्न सकेका छैनन् ।
बेपत्ताको खोजी भइरहेको र घाइते होमकान्तपाण्डे (किसान) वडा नम्बर ४ का वडा सदस्य हुन् ।
गाउँमा खानेपानीको धारामा पानी नआएपछि पानीको मुलमा मर्मतका लागि पुगेका उनीहरूलाई माथिबाट झरेको पहिरोले पुरेको बताइएको छ ।
पहिरोमा पुरिएकाको उद्धार र खोजी कार्यमा कठिनाई आएका कारण समस्या भएको बताइएको छ ।
पहिरोका कारण ४ घर विस्थापित हुने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घट्ना स्थलमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी प्रमुख विमलराज कणेल सहित नेपाली सेना र शसस्त्र प्रहरीको टोली पुगेको छ ।
यता स्याङ्जाको चापाकोट नगरपालिकाका राम पौडेल सम्पर्क विहिन भएका छन् । चापाकोट नगरपालिका वडा न ३ कामतीका २५ वर्षीय रामप्रसाद पौडेल सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आफ्नै खेतमा जोत्न जान्छु भनी एक हल गोरु लिएर हिडेका पौडेल सोमबार दिउँसो ११ बजेदेखि सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् ।
गोरु ज्याग्दीखोला तरी गएको र उनी हालसम्म सम्पर्कमा नआएको अधिकारीले बताएका छन् । प्रहरीले पौडेलको खोजतलास गरिरहेको जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्