काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने उपत्यकाका तीन वटा निजी अस्पतालमाथि छानबिन सुरू गरेको छ।
उपत्यकाका ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजले बिरामीहरूको आफूखुसी कोरोना परीक्षण गरेर शुल्क लिने गरेको गुनासो बाहिर आएपछि मन्त्रालयले गुणस्तर मापन तथा अनुगमन महाशाखालाई छानबिन अगाडि बढाउन निर्देशन दिएको थियो।
छानबिनका लागि महाशाखाले वरिष्ठ औषधि व्यवस्थापक डा। पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो।
‘हामीले बाहिर त्यस्तो गुनासो आएपछि छानबिन समितिमार्फत् तीन वटै निजी अस्पताललाई सोधपुछ गरेका छौं। अब एक दुई दिनमै मन्त्रालयलाई प्रतिवेदन बुझाउँछौं,’ क्षेत्रीले भने।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले अस्पतालले परीक्षणको नाममा नाफा लिने काम नगरेको दाबी गरे।
उनले भने,‘हामीले व्यक्तिबाट ७ हजार ५ सय रुपैयाँ लिन्छौं। त्यसमा सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ परीक्षण गर्ने टिचिङ अस्पताललाई बुझाउँछौं।
बाँकी शुल्क भनेको हाम्रो खर्च लाग्ने भिटिएम, स्वास्थ्यकर्मी र स्वाब पुर्याउने व्यक्तिको लागि हो।’
मन्त्रालयले जारी गरेको नयाँ कोभिड-१९ टेस्टिङु सम्बन्धी निर्देशिका अनुसार लक्षणविहीन व्यक्तिको कोरोना परीक्षण गर्न नपर्ने भनिएको छ।
तर अहिले अस्पतालहरूमा आपतकालीन शल्यक्रिया गर्नुपर्ने र अन्य बिरामीको पनि परीक्षण भइरहेको छ। त्यस्ता व्यक्तिहरूबाट अस्पतालले परीक्षण गरेबापत शुल्क असुल्ने गरेको पाइएको हो।
अहिले मन्त्रालयले दुइटा निजी अस्पताललाई मात्र शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ। जसमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्टार अस्पताल छन्।
आफ्नो प्रतिकृया दिनुहोस्