म्याग्दी । लगातारको वर्षापछि आएको पहिरो र बाढीका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ, ३१ जना बेपत्ता भएका छन् ।
जिल्लाको धौलागिरि गाउँपालिका-७ ताकममा २ जना र रघुगंगा गाउँपालिकाको डाँडाखानीमा १ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्यग्दीले जनाएको छ ।
पहिरोले धौलागिरि, रघुगंगा र मालिका गाउँपालिका बढी प्रभावित भएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।
पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रजिअ ढकालले जानकारी दिए । ‘रघुगंगामा पुलै बगाएको छ । पहिरो छिचोल्दै जान पनि कठिन भइरहेको छ’ प्रहरीले बताए ।
उद्धार टोली पुर्याउन गृह मन्त्रालयबाट हेलिकप्टर माग गरिएको छ । ‘पहिरोमा बेपत्ताहरुको खोजी र उद्धारमा समस्या भएकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर आउँदैछ,’ प्रहरीले भने, ‘हेलिकप्टरमार्फत र पैदल पनि उद्धार टोली पुगेपछि घटनाको यथार्थ आउला ।’
रघुगंगा गाउँपालिकामा रघुगंगा खोलाले पुल बगाएको छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लासम्मको यातायात सम्पर्क बन्द भएको छ ।
बेनी नगरपालिकाको म्याग्दी खोला र रघुगंगा खोलाका कारण जोखिममा रहेका २८ घरलाई सुरक्षित स्थानमा सार्न लागिएको छ । त्यहाँका ११० जनालाई उद्धार गरी गलेश्वरको धर्मशाला र आमा समूहमा राख्ने प्रबन्ध मिलाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्